२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले छान्यो उम्मेदवार


0
Shares

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा मंगलबार बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ ।

थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुन् । नेता शर्मा भने पूर्वमन्त्री तथा उनले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

अध्यक्ष दाहालको सचिवालयकाअनुसार प्रदेश नम्बर–१ मा बिना पोखरेल (महिला) र प्रदेश नम्बर–२ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । सो प्रदेशमा एक उम्मेदवार छनोट गर्न बाँकी छ ।

यस्तै प्रदेश नम्बर–३ मा रामबहादुर थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश नम्बर–४ मा दीनानाथ शर्मा (खुला), खिमकुमार विक (दलित), प्रदेश नम्बर–५ मा राजकुमार कुँवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नम्बर–६ बाट जीवन बुढा (अपांग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला)बाट उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै, प्रदेश नम्बर–७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए ।

सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएको थियो । रासस