Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएन : सांसद ताहिर अली भाट


0
Shares

काठमाडाैं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा असफल हुँदै गएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकार तथा वर्तमान सरकारको कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले मन्त्रीहरुले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको भन्दै आलोचना पनि गर्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको सांसद भाटको आरोप छ । उहाँले रासायनिक मलको उपलब्धताका लागि करोडौँ रुपैयाँ विनियोजन गरिएपनि किसानले मल पाउन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, राज्य पुरै असफलतिर ढल्किराखेको छ । सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन । मन्त्रीको सल्लाहकार राष्ट्रिय फौज जस्तै भर्ना हुन लागेको छ । त्यसकारण पहिलाको सरकार र अहिलेको सरकारमा कुनै फरक मैले देखिराखेको छैन सभामुख महोदय । एउटा हिन्दीमा मलाई एउटा शायर याद आयो । ‘कुर्ते ने कहा पैजामे से हम तुम बने एक धागे से । हममे तुममे इतना फरक तुम्हें पहनता पीछे से, हमे पहनता आगे से ।’ बस त्यत्ति फरक छ । त्यसकारण युवा बेरोजगार व्याप्त छ । ५ सय युवालाई पनि रोजगारी दिन सकेन यो सरकारले । शिक्षा, स्वास्थ्य कुनैपनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन । किसानलाई यो सरकारले मल दिन सकेन । २ करोड रुपैयाँ कृषि माफियाको लागि अनुदान छुट्यायो र १ लाख, २ लाख, ४ लाख, ५ लाख काम गर्ने कृषक, गरीब कृषकको लागि १ रुपैयाँ पनि अनुदान छुट्याएन ।

त्यसकारण बीमामा यो बीमाको लागि अस्पतालमा बिरामी जान्छ, बीमाको महत्त्व दिँदैन । यसकारण मलाई लागेको छ सरकार हरेक ठाउँ असफल भइराखेको छ ।’ सरकार विस्तारै सबै क्षेत्रमा असफल हुँदै गएको सांसद भाटको आरोप छ ।

Skip This