Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छु : गगन थापा


0
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताउनुभएको हो ।

पूर्वसभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै उहाँले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था वा कारण नरहेको बताउनु भयो । उहाँले पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै सबैलाई समेटेर अघि बढ्ने उहाँको भनाइ छ ।

सभापति थापाले भन्नुभयो, ‘आज महाधिवेशनको व्यवस्थापन समिति मेरो संयोजकत्वमा बनाउने निर्णय भएको छ । त्यसैले केन्द्रिय समितिमा आउनुभएका साथीहरूमध्ये केहीलाई म अनुरोध गर्न चाहन्छु । छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस् । आवास, भोजनलगायतका विभिन्न समितिहरू बनाएर सम्पूर्ण लजिस्टिक व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारी लिनुपर्ने साथीहरूले यहीँ बसेर काम गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यस विषयमा हामी थप छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ । महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयहरू पनि सबैसँग सरसल्लाह गरेर अघि बढाउने निर्णय भएको छ ।

त्यसैले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने हाम्रो प्रयास हुनेछ । मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु । त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।’

सभापति थापाले पार्टीका वरिष्ठ नेताहरूलाई महाधिवेशन एकै ठाउँमा मिलेर सम्पन्न गर्ने वातावरण बनाउन पुनः आग्रह गर्नुभयो ।

Skip This