२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हिमपातसँगै सुदूर पहाडकोे जनजीवन प्रभावित


0
Shares

बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङकर लगायतका ठाउँमा हिमपात भएको छ । दार्चुलाका उत्तरी क्षेत्रका सबै स्थानमा हिमपात भएको छ ।

चिसोबाटै बच्नका लागि दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् ।

डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय आषिश मल्लले जानकारी दिए ।

बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेख, पीठालेख, दौलीचौर, सुर्मा, काँडा लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।

मंगलबार रातिदेखि पानी पर्न सुरु भए पनि हिमपात भने बुधबार बिहानमात्र भएको हो । लेकाली भेगमा भने हिमपात जारी छ । बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको लक्ष्मीराज पाध्यायले जानकारी दिए । बर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका उनले बताए ।

अछामको पनि उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ ।

हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।