
काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गैर स्वास्थ्यकर्मीलाई सचिवको जिम्मेवारी दिएको भन्दै विरोध जनाएको छ ।
संघले तत्कालै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । सरकारले स्वास्थ्य सचिवमा प्रशासन समुहका केदारबहादुर अधिकारीलाई नियुक्त गरेपछि चिकित्सक संघ विरोधमा उत्रिएको हो ।
संघले आज एक विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेको हो । संघले उक्त निर्णयको विरोध गर्न देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेको छ ।
स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिकित्सक संघले सरकारले आफ्नो निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । नवनियुक्त स्वास्थ्य सचिव केदारबहादुर अधिकारी प्रशासन समुहको छन् ।
यस अघिकी स्वास्थ्य सचिव डा.पुष्षा चौधरीले राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्यलयले गत असोज २८ गते उनको सरुवा गरेको थियो ।
प्रधानमन्त्री कार्यलयमा नै सरुवा गरिएकी डा. चौधरीले सरकारी निर्णयको विरोध गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
सर्वोचले उनलाई तत्काल सरुवा नगर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्