काठमाडौं, मंसिर २३ । प्रदेश सरकार बनेको १० महिनापछि पहिलोपटक अन्तरप्रदेश परिषदको बैठक बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालय सिंहदरबार आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारका मन्त्रीहरु र सातै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी छन् ।
आइतबारको बैठकमा प्रदेश नम्बर–१, २, ३ र गन्डकी प्रदेशका मुख्यमन्त्रीहरुले आफ्ना धारणा राखेका थिए ।
प्रदेश र संघबीच राजनीतिक अधिकार, विकास, कानुनका विषयमा उत्पन्न विवाद समाधानका विषयमा छलफल भएको छ ।
बैठकपछि प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका समस्याहरुकाबारेका छलफल भएको भन्दै समाधान हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, संघीय सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैठकमा संरचनागतरुपमा संघीयतालाई बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको जानकारी दिए ।
नेपालको संविधानको भाग २० को धारा २३४ मा अन्तरप्रदेश परिषदको प्रस्ताव गरिएअनुसार परिषदको पहिलो बैठक बसेको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा गृहमन्त्री, अर्थमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री सदस्य छन् ।
सोमबारको बैठकमा बाँकी तीनजना मुख्यमन्त्रीहरुले धारणा राख्ने र एउटा कार्यविधि तय हुने जनाइको छ ।









प्रतिक्रिया दिनुहोस्