३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहको नियन्त्रणमा


0
Shares

राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् ।

सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा कम्तिमा १० जनाको मृत्यु भएको छ । संघर्षमा दर्जनौं मानिस घाइते भएका छन् ।

यमनको सरकारले एडेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । राजधानी सना भने हुथी विद्रोहीले नियन्त्रणमा लिएका छन् । अहिले दुवै पक्षले आफ्ना सेनालाई कारबाही रोक्न अपील गरेका छन् ।

सरकारी सुरक्षा फौजले छिमेकी अरब मुलुकहरुबाट भएको हस्तक्षेपलाई सुल्झाउन अपील गरेको छ । सरकारी सेना र पृथकतावादी समूहबीचको संघर्षका कारण यमनका लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

पछिल्लो संघर्षका कारण त यहाँको अवस्था झन् विकराल बनेको बताइएको छ । सन् १९९० मा दक्षिण र उत्तर यमनलाई मिलाएर अहिलेको यमन बनेको हो ।

तर अझै पनि दक्षिणी यमनमा पृथकतावादी भावना शान्त हुन सकेको छैन ।

पृथकतावादीहरुले हुथी विद्रोहीको विरुद्धमा सरकारलाई समर्थन गर्दै आएको थिए, तर केही हप्ताअघि पृथकतावादी समूहले सरकारले भ्रष्टाचार गरेको र भेदभाव गरेको आरोप लगाउन थालेपछि मुलुकमा तनावको अवस्था आएको हो ।

पृथकतावादीहरुले प्रधानमन्त्री दागेरलाई हटाउन राष्ट्रपतिलाई अल्टिमेटम दिएका थिए । सो अल्टिमेटमको समय सकिएपछि सरकारविरुद्ध संघर्ष चुलिएको हो । दक्षिणी पृथकतावादीलाई संयुक्त अरब इमिरेट्स युएईको समर्थन छ ।

जो हुथी विद्रोहीका विरुद्ध संघर्ष गरिरहेको साउदी अरब नेतृत्वको गठबन्धनमा सहभागी छ । यसैबीच प्रधानमन्त्री दागेरले युएईबाट तत्काल शन्तिको प्रयास उठाउन आग्रह गरेका छन् ।

उनले यो संघर्षले हुथी विद्रोहीलाई फाइदा पुग्ने बताएका छन् । साउदी अरबमा रहेका राष्ट्रपति हादीले पनि युद्धविरामको अपील गरेका छन् ।