
सम्बन्धित निकायको अनुमति विनै जनतासँग गरिएका बाचा पूरा गराउन भन्दै जनप्रतिनिधिहरुकै अगुवाईमा विकासका नाममा जंगल फडानी हुने क्रम बढेको हो ।
रुख कटान गर्न रौतहटका वनमा चार वटा स्काभेटर र ग्रेडर प्रयोग गरिएको छ । धन्सारदेखि जंगलसैया जाने बाटोको स्तरोन्तति गर्ने भन्दै ११ किलोमिटर सडकको १० मिटर चौडाईभित्रका रुख दुई साताभित्रै काटिएको छ ।
पहिलो चरणमा जंगलशैयादेखि बाग्मतीको नहरसम्मको सडक चौडाई पारिसकिएको छ । त्यसभित्र पर्ने जामुन, कर्मा, बाझी, भुर्कुट लगायत प्रजातिका रुख कटान भएका छन् ।
दोस्रो चरणमा बाग्मतीको नहरदेखि पूर्व–पश्चिम राजमार्गको धन्सारसम्मको सडक सम्याउने काम भइरहेको छ ।
ती दुवै क्षेत्र पशुपति सामुदायिक वन उपभोक्ता समूह र जंगलसैया साझेदारी वन उपभोक्ता समितिको वन क्षेत्रभित्र पर्दछन् ।
रुख कटानमा जनप्रतिनिधिहरु नै संलग्न भएपछि वन कार्यालयका कर्मचारीले नियन्त्रण गर्न सकेका छैनन् ।
ईलाका वन कार्यालय जंगलसैयाका सहायक वन अधिकृत सोन्फि पासवानले अनुमति विनै जंगल फडानी भइरहेको बताए ।
आफूहरु नियन्त्रण गर्न गए पनि राजनीतिक धम्की आउने गरेको उनले गुनासो गरे ।
जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले पनि स्वीकृति र अनुमति विनै त्यस क्षेत्रमा रुख कटान गर्ने क्रम जारी रहे पनि आफूहरुले केही गर्न नसकेको स्वीकार गरे ।
प्रतिक्रिया दिनुहोस्