ज्ञात–अज्ञात शहीदप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली, राष्ट्रपति तथा उपराष्ट्रपतिले दिए शुभकामना • Image Khabar Image Khabar


ज्ञात–अज्ञात शहीदप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली, राष्ट्रपति तथा उपराष्ट्रपतिले दिए शुभकामना


Imagekhabar
१६ माघ २०७४, मंगलवार ११:३१

ज्ञात–अज्ञात शहीदप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली, राष्ट्रपति तथा उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले गरेको कार्यक्रममा लैनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, रक्षामन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायत नागरिकहरुको सहभागिता थियो ।

यसअघि आजै शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरि शुरु गरी प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि शहीद स्मारक पुगेको थियो ।

यसैबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताएकी छन् ।

उनले मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई सधैं ख्याल गर्नुपर्ने भन्दै सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित हुन शहीद दिवसले प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गरेका छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गर्दै राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्व भएको उल्लेख गरेका छन् ।

उनले अब शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त लोकतन्त्रको जगमा देशको आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्नु अपरिहार्य रहेको भन्दै सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

शहीद दिवसकै अवसरमा वक्तव्य जारी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन् । उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्