
दलित परिवारको बाक्लो बस्ती रहेको नौलाकोट हिजोआज मलामी जानको लागिसमेत युवा भेटिदैंनन् । नौलाकोटमा अहिले बृद्धाबृद्ध, महिला, केटाकेटीमात्र भेटिने गरेका छन् । बेराजगारी समस्याका कारण अधिकांश युवा मुग्लान लागेपछि गाउँ सुन्य बनेको स्थानीय ९१ बर्षीया बृद्धा रम्बा बिक बताउँछिन् ।
रम्बा बिकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तरार्द्घमा छोराछोरी मुग्लान लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुई/तीन वर्ष अघिसम्म खेतीपाती लगाउनका लागि घर आउने उनका छोराबुहारी अचेल आएका छैनन् । ‘जग्गा जमिन बाँझै छ,’ उनले भनिन्, ‘आफू त आज हो कि भोलि, स्याहार सुसार गर्ने उमेरमा छोराबुहारी पनि घरमा छैनन् ।’
चाडपर्वको समयमा घरमा कोही नहुँदा उराठलाग्ने गरेको उनको भनाइ छ ।
स्थानीय मिना बिकलाई पनि कम समस्या छैन । मिनाका श्रीमान् बितेको चार वर्ष पुग्यो । चार छोरामध्ये दुई छोरा परदेशतिर लागेपछि उनी दुई नाबालक छोरालाई स्याहारसुसार गर्दै आएकी छन् ।
आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाई छोडेर भारतमा रोजगार गर्दै आएका भरत विकले पहुँचवालाले मात्रै रोजगार पाउने भएकाले आफू भारत गएर काम गर्दै आएको बताए ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कँुवरले बढ्दो बेरोजगारीले युवाहरु विदेश जान थालेपछि आफूलाई चिन्तित बनाएको बताए । उनले बेरोजगार समस्यालाई समाधान गर्नका लागि नगरपालिकाले कपाल काट्नेदेखि कम्युटर तालिम सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्