Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


पर्वत र बागलुङ जोड्ने मालढुंगा पुल मर्मत तीव्र, एक साताभित्र सञ्चालनमा ल्याउने तयारी


0
Shares

लक्ष्मीप्रसाद सापकोटा, पर्वत । बाढीले क्षति पुर्‍याएको पर्वत र बागलुङ जोड्ने मालढुंगा मोटरेबल पुलको मर्मत कार्य तीव्र पारिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत कालीगण्डकी नदीमाथि रहेको पुललाई करिब एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित चौबीसै घण्टा काम भइरहेको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग कटान गरेपछि आवागमन ठप्प भएको थियो। पुल बन्द हुँदा दुई जिल्लाबीचको प्रत्यक्ष यातायात सम्पर्क विच्छेद हुनुका साथै मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम र रोल्पासम्मको यातायात प्रभावित भएको छ।

सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतका लागि दिन र रात दुवै समयमा कामदार परिचालन गरेको जनाएको छ। सडक डिभिजन प्रमुख कृष्णराज अधिकारीका अनुसार चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन थालेकाले मर्मतलाई प्राथमिकता दिइएको हो।

इन्जिनियर अमन अधिकारीका अनुसार पुल आसपास नदीको सतहभन्दा करिब आठ मिटर तलसम्म गहिरिएको भाग पुरेर प्लेटफर्म निर्माण गरिएको छ। अब पहुँचमार्ग निर्माणका लागि ठूलो परिमाणमा माटो, ढुंगा र गिटी आवश्यक पर्ने भए पनि नजिकै निर्माण सामग्री उपलब्ध नहुँदा काममा कठिनाइ भइरहेको छ।

यसअघि निर्माणस्थलभन्दा करिब दुई किलोमिटर टाढाबाट सामग्री ल्याइँदै आएको थियो। उक्त स्थानबाट सामग्री ल्याउन रोकिएपछि अहिले करिब १० किलोमिटर टाढाको पहिरो क्षेत्रबाट माटो र ढुंगा ढुवानी गर्नुपर्ने अवस्था रहेको इन्जिनियर अधिकारीले बताउनुभयो।

निर्माणस्थल साँघुरो हुनुका साथै अग्लो पर्खाल निर्माण गर्नुपर्ने भएकाले प्राविधिक रूपमा पनि काम चुनौतीपूर्ण रहेको जनाइएको छ। आवश्यक निर्माण सामग्री सहज रूपमा उपलब्ध भए करिब सात दिनभित्र पुललाई सञ्चालनयोग्य बनाउने लक्ष्य रहेको डिभिजन प्रमुख अधिकारीले बताएउनुभयो।

यसैबीच प्रतिनिधिसभा सदस्य सोम शर्मा, प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारसहित सडक विभागको टोलीले शनिबार पुलको स्थलगत निरीक्षण गरेको छ। टोलीले चौबीसै घण्टा काम गरेर भए पनि पुल यथाशीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो। मर्मतका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन पर्वत र बागलुङका जिल्ला प्रशासन कार्यालय तथा बागलुङ नगरपालिकालाई समन्वय गर्न आग्रह गरिएको छ।

पुल बन्द हुँदा बागलुङबाट बाहिरिने तथा भित्रिने सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरू भने वैकल्पिक रूपमा अग्ला तथा लामा पुल प्रयोग गर्दै पर्वततर्फ पुगेर गन्तव्यतर्फ जान बाध्य छन्। लामो समयदेखि यातायात अवरुद्ध हुँदा बागलुङ बजारमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभावसमेत देखिन थालेको छ।

यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध बनेको मालढुंगा–बेनी सडकखण्ड शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। पर्वतका कालीगण्डकी लोकमार्गको पर्वत खण्ड र लुंखुदेउराली–हुवास सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्। सडक अवरुद्ध हुँदा बिहादी र पैँयु गाउँपालिकाका बासिन्दालाई स्याङ्जा र पोखरा हुँदै कुश्मा आवतजावत गर्नुपर्ने बाध्यता छ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ। तत्कालका लागि वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ।