
काठमाडौंको इको कोड नेपाल प्रालिले डीपीआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डीपीआर प्रक्रियालाई द्रुतगतिमा अगाडि बढाइएको छ ।
मंगलबार स्थानीय जनप्रतिनिधिको उपस्थितिमै डीपीआर प्रक्रियालाई तीव्रता दिइएको छ ।
इको कोडका इन्जिनियर कुमार धमलाले ६ महिनाभित्रमै डीपीआरको कामलाई पूरा गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिए ।
‘डीपीआरको कामलाई तीव्र बनाएका छौं, अबको ६ महिनाभित्रमा डीपीआरको सबै काम पूरा गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई बुझाउँछौं’–इन्जिनियर धमलाले भने ।
उनले डीपीआरको काम सकिएपछि इआइए (वातावरणीय प्रभाव मूल्यांकन) पनि तत्काल सुरु गरिने बताए । त्यसलगत्तै औद्योगिक क्षेत्रको शिलान्यास गरिने जनाइएको छ ।
डीपीआर गरेपछि शक्तिखोरमा उद्योगको सम्भावना, औद्योगिक वातावरण, आर्थिक हिसाबले सहज या असहज, कस्ता खालका उद्योगहरु स्थापना गर्दा उपयुक्त हुने निष्कर्ष निस्कनेछ ।
इन्जिनियर धमलाले भने–‘डीपीआरकैक्रममा कतिओटा उद्योगका प्लट राख्न सकिने, लाग्ने खर्च र कति सहज हुने भन्ने सबै कुरा प्रतिवेदनमा राख्छौं । सोहीअनुसार नै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढ्ने हो ।’
औद्योगिक क्षेत्र निर्माणस्थल उदयपुर सामुदायिक वन क्षेत्रमा पर्दछ । जसका कारण औद्योगिक क्षेत्र निर्माण गर्दा सबै वन फडानी गर्नुपर्ने हुन्छ । यसरी वन फडानी गर्दा अरु क्षेत्रमा सोही अनुपातमा वृक्षारोपण गर्नुपर्ने भएकाले आवश्यक वृक्षारोपणको विषयसमेत डीपीआरमा उल्लेख हुने जनाइएको छ ।
शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिकाको वडा नम्बर–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ विगाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो ।
सरकारले ‘एक प्रदेश, एक औद्योगिक क्षेत्र’ निर्माण गर्ने अवधारणा अनुरुप प्रदेश नम्बर–३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।
मंगलबार चितवन उद्योग संघका पदाधिकारी, डीपीआर गरिरहेको टोलीलगायतले औद्योगिक क्षेत्रको निरीक्षणसमेत गरेका छन् ।
औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ । चितवन उद्योग संघले निर्माणको अगुवाइ गरिरहेको छ ।
संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्रमा वातावरणमैत्री उद्योगहरु राखिने बताए ।
‘हामीले भोगाधिकारसहितको उद्योग राख्न पाउने व्यवस्था मिलाउन लागेका छौं, यसो भएमा सहजरुपमा उद्योगहरु खुल्न सक्नेछन्’–अध्यक्ष दुवाडीले भने ।
उनले धेरै उद्योगीहरु उद्योग खोल्न आतुर रहेकाले चाँडै औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने अवस्था आएको बताए ।
शक्तिखोर औद्योगिक क्षेत्रलाई औद्योगिक पार्ककोरुपमा अगाडि बढाइने भएकाले उद्योग सन्चालनका लागि धेरैजना इच्छुक रहेको अध्यक्ष दुवाडीले बताए ।
‘चितवन उद्योग संघ चाँडै उद्योगहरु भरेर दीर्घकालीनरुपमा औद्योगिक क्षेत्र सन्चालन गर्ने कसरत गरिरहेको छ’–उनले भने ।
औद्योगिक क्षेत्र पर्ने वडा नम्बर–३ का अध्यक्ष टिकाराज रिजालले आफ्नै वडामा यति ठूलो औद्योगिक क्षेत्र निर्माण हुने हुँदा गौरवको महसुस भएको बताए ।
‘हामी सबै स्थानीयवासी हर्षित छौं, रोजगारीको सिर्जना गर्नुका साथै यहाँको विकास हुनेमा आमी पूर्णआशावादी छौं’–अध्यक्ष रिजालले भने ।
उनले जतिसक्दो छिटो औद्योगिक क्षेत्र बन्नुपर्नेमा आफ्नो जोड रहेको बताए ।
शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरतर्फ पर्दछ । यस्तै, भरतपुरको बाइपास रोडबाट पदमपुर हुँदै औद्योगिक क्षेत्र पनि प्रवेश गर्न सकिनेछ ।
कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र नगरपालिकाकै गौरवको आयोजना भएको बताए ।
उनले औद्योगिक क्षेत्र निर्माणमा स्थानीयस्तरमा कुनै विवाद नरहेको भन्दै सहज निर्माणका लागि नगरपालिकाले सकरात्मक भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्