Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


दूरसञ्चार क्षेत्रको नियमनलाई थप कडाइ र व्यवस्थित गर्छौं : प्राधिकरण अध्यक्ष घिमिरे


0
Shares

काठमाडाैं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने बताउनुभएको छ ।

प्राधिकरणमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उहाँले दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाई र व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभएको हो । दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले थप गम्भीर भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उपभोक्ताका रूपमा आफूहरू पनि दूरसञ्चार सेवाबाट प्रत्यक्ष प्रभावित हुने भएकाले सेवा प्रदायकलाई व्यवस्थित बनाउन नियामकले सक्रिय भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा भ्वाइस सेवा प्रदान गर्ने अपरेटरको संख्या विगतमा ६ रहेकामा अहिले दुई वटामा सीमित भएको छ ।

यस्तै, इन्टरनेट सेवा प्रदायक (आईएसपी) को संख्या भने बढेको उहाँले बताउनुभयो । दूरसञ्चार क्षेत्रको कुल आम्दानी पनि घट्दो क्रममा रहेको उहाँको भनाई छ । हाल डेटा सेवाबाट हुने आम्दानी बढे पनि भ्वाइस सेवाबाट हुने आम्दानी घटिरहेको उहाँले बताउनु भयो । आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग भने दिनप्रतिदिन बढिरहेको उहाँले उल्लेख गर्नुभयो । यी अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियमनको दायरा फराकिलो बनाउने, सेवा क्षेत्रलाई थप व्यवस्थित गर्ने र आवश्यक स्थानमा नियमनलाई कडाइ गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको छ । यो अत्यावश्यक सेवालाई हामीले व्यवस्थित रूपमा लैजान सकिनौ भने त्यसको मार पर्ने हामी पनि कन्जुमर हो । हामी कन्जुमर भएकादे हामीलाई पनि त्यो अवसर त्यो सेवाबाट प्रभाव पर्छ । हामीले कन्जुमरका हिसाबले पनि हामीले यो सेवा प्रदायकलाई यति व्यवस्थित गर्नको लागि सिरियस रूपमै लाग्नुपर्ने अवस्था छ । नेपालको टेलिकम सेक्टरमा केही अवस्थााहरू यस्तो जटिल अवस्थााहरू पनि छन् । ती जटिल अवस्थााहरूलाई समाधान गर्नुपर्ने छ ।

हामी कहाँ भोइस सेवाको अपरेटर ६ वटा थिए, ६ वटाबाट दुई वटामा झरेको अवस्था छ । आइएसपीको संख्या अलिकति बढेको अवस्था छ । टेलिकम सेक्टरको रेभिन्युको पार्ट पनि अलिकति डिक्रीजिङको लाइनमा गएको छ । भलै डेटाको रेभिन्यु त बढेको छ, तर भोइसको रेभिन्यु घटेको अवस्था छ ।

आम उपभोक्तालाई यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । यी सबै समग्र रूपलाई हेरेर अब नियमनको दायरा अलिकति फराकिलो पनि बनाउनुपर्ने छ, अलिकति व्यवस्थित पनि गर्नुपर्ने छ, अलिकति स्ट्रिक्टली पनि गर्नुपर्ने अवस्था छ । यी सबै विषयहरूलाई विचार गरेर काम गर्नुपर्ने अहिले नियामक निकायलाई चुनौतीहरू पनि छन् । सरकारसँग हामीले समन्वय गरेर काम कारबाहीहरू अगाडि बढाउने छौँ ।’

उहाँले नियामक निकायसामु रहेका चुनौती सरकारसँग समन्वय गरेर समाधान गर्ने बताउनुभयो । साथै प्राधिकरणका कामकारबाहीलाई निगरानी गर्दै आवश्यक सुझाव र दबाब दिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्राधिकरणले कामकारबाहीका क्रममा वाह्य प्रभाव वा दबाब आएमा पनि आफूलाई सही मार्गमा राख्न सञ्चार क्षेत्रले ‘वाचडग’ को भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । प्राधिकरणले आफूले गरेका कामकारबाहीबारे प्रत्येक महिना सार्वजनिक रूपमा जानकारी गराउने उहाले बताउनु भयो ।

Skip This