
भारतले बिनाकारण नेपालमा उत्पादित अम्लिसोको कुचोको निर्यात रोकिदिएपछि नेपाली किसानको गोदाममा करोडौं रुपैयाँ पर्ने अम्लिसो थन्किएको छ ।
इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा बढी अम्लिसो उत्पादन हुने गरेको छ । मेचीका तीन जिल्लामामात्रै वार्षिक ८० हजार मेट्रिकटनभन्दा बढी कुचो उत्पादन हुँदै आएको छ ।
नेपालमा उत्पादित अम्लिसो कुचोको मुख्य बजार भारत हो । अहिले कुचो निर्यातको मुख्य सिजन हो ।
तर, भारतले निकासी रोकिदिँदा किसानलाई समस्या परेको इलामका कुचो व्यापारी खड्गबहादुर कार्कीले बताए । उनले कुचो निकासीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरे ।
कुचोको उत्पादन हुने सिजनमा कारोबार ठप्प भएपछि अम्लिसो खेतीमा लागेका पूर्वी नेपालका हजारौं किसान चिन्तित भएका छन् ।
व्यवसायीले किसानसँग किनेको कुचो निकासी नहुँदा गोदाममा नै थन्काएर राखेका छन् । निकासी रोकिएपछि व्यवसायीले किसानसँग कुचो खरिद गर्नसमेत बन्द गरेका छन् ।
भारतले निकासी रोकिदिएपछि मूल्यमासमेत गिरावट आएको इलाम नगरपालिका–१ का किसान टीकाराम दाहालले गुनासो गरे ।
पूर्वीनाका काँकडभिट्टाबाट बर्सेनि ६०० देखि ७०० ट्रक कुचो भारत निकासी हुँदै आएको मेची भन्सार कार्यालयले जनाएको छ ।
तर, एकाएक नेपालको अदुवा रोकिएझैं कुचोको निकासी पनि रोकिएपछि पूर्वी पहाडी जिल्लाका किसान दोहोरो मारमा परेका छन् । उनीहरुले कुचो निकासीको वातावरण मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्