
चिकित्साशिक्षा सुधारमा निरन्तर लागेका डा. केसीले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश पराजुलीको तीनओटा नागरिकता रहेको जिकिर गरिएको छ ।
डा. केसीले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटी उजुरी दर्ता गराएका हुन् ।
डा. केसीसहित, अधिवक्ता ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारी र डा.अभिषेकराज सिंह जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उजुरी दर्ता गराएका हुन् ।
प्रधानन्यायाधीशले नै एकभन्दा बढी नागरिकता लिएपछि उसले गर्ने निर्णय कसरी न्यायिक हुन्छ ? भन्दै डा. केसीले प्रश्नसमेत गरे ।
डा. केसीले आफूले सधैं अदालतको सम्मान गर्ने तर भ्रष्ट र माफियालाई भने पदबाट मुक्त गराएर नै छाड्ने अडान रहेको बताए ।
यसैबीच, डा.केसीको मुद्दामा वकिल रहेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप पनि लगाइएको छ ।
प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. भण्डारीले बुधबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंमै उजुरी दिएका छन् ।
प्रधानन्यायाधीश पराजुरीले वरिष्ठ अधिवक्ता डा. भण्डारीलाई टेलिफोनमार्फत् ज्यान मार्ने धम्की दिएकाले जीउज्यानको सुरक्षाका लागि उजुरी दर्ता गराइएको डा. केसीले बताए ।
चिकित्साशिक्षा सुधारमा लागेका डा. केसीकै पटक–पटकको आमरण अनशनबाट प्राप्त भएको उपलब्धिलाई अदालतको आदेशबाट निस्तेज पार्न थालिएको र यसमा माफियाहरुको मिलेमतो रहेको आरोप लगाउँदै डा. केसी यसअघि आमरण अनशन नै बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्