
सात दिनसम्म हराएका जोन बुधबार अपराह्न फेलापरेका थिए । सात दिनसम्म जंगलमा खुला आकाशमुनि बसेकाले उनको छातीमा केही समस्या देखिएको र खुट्टा सुन्निएको चिकित्सकहरुले बताएका छन् ।
सात दिनसम्म हराएको छोरा भेट्दा ३४ वर्षीया रीमा तामाङको खुसीको सीमा नै थिएन । सात दिनसम्म देख्न, भेट्न र बोल्न नपाएको छोरा एक्कासि देख्दा रीमा निकै भावुक बनिन् ।
छोरा हराएको खबर पाउनासाथ खोज्न हिँडेकी रीमा सात दिनपछि छोराले आमा भनेर बोलाउँदा उनको खुसीको सीमा नै थिएन ।
जोनका बाबु गौतम तामाङले अरुले छोराको आश मारिसके पनि आफूलाई भने छोरो जीवित नै छ भन्ने लागेर खोज्न नछाडेको बताए ।
कान कम सुन्ने र सुस्त बोल्ने १७ वर्षीय जोन ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनका ६ कक्षाका विद्यार्थी हुन् भने उनी गत साता साथीहरुसँगै हिउँ खेल्न गएका थिए । फर्कनेक्रममा बाटो बिराएर छोडिएका थिए ।
रेस्क्यु थ्री साउथ एसियाको टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेटाएको थियो । रेस्क्यु थ्री साउथ एसियाका क्षेत्रीय निर्देशक चन्द्र आलेको १८ जनाको टोली बुधबार बिहानबाट नै जोनलाई खोज्न निस्किएका थिए ।
खोज्दै जाँदा जोनको स्कुलको झोला र टिफिन बक्स भेटिएको थियो । त्यसैलाई पछ्याउँदै जाँदा घना जंगलभित्र अर्धचेत अवस्थामा उनी भेटिएका थिए ।
चन्द्र आलेले जोन भनेर बोलाउदा उनले आँखा खोलेका थिए । ७० डिग्रीको भिरालोमा अडिएका जोनलाई तल झार्न भने साढे तीन घन्टा लागेको थियो ।
उनको उद्धारलाई आफ्नो जीवनको ठूलो उपलब्धि बताउने चन्द्र आलेले जोनको स्वास्थ्य अवस्था सुधारिँदै जाओस् भन्दै कामनासमेत गरे ।
उद्धार गरेपछि उनलाई बुधबार साँझ नै उपचारका लागि बीएन्डबी अस्पतालमा लगिएको थियो ।
सामान्य चोट लागेको, हातखुट्टा सुन्निएको र छातीमा समस्या देखिएका उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
डा. ओमप्रकाश अधिकारीको टोलीले जोनको उपचार गरिरहेका छन् भने उनी अहिले बोल्न र खानसक्ने भएको चिकित्सकहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्