अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा « Image Khabar


अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा


Imagekhabar
१९ माघ २०७४, शुक्रबार ११:०२

कटान रोक्न पहल भए पनि प्रभावकारी हुन सकेको छैन ।

१९८६ सालमा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर छेत्रका सबै संरचना बगाएको भए पनि त्यहाँ रहेको शिवलिङ्ग भने यथास्थानमै फेला पर्‍यो । शिवलिङ्ग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य सुरु गरिएको छ ।

वैद्यनाथ धाम नजिकै भएर बग्नेबुढीगंगा नदीले वर्षेनि कटान गर्दै आएपछि यस क्षेत्रका स्थानीले चिन्ता व्यक्त गरेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रको कटान रोक्नका लागि सरोकारवालले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।

छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएपछि अहिले वैद्यनाथ क्षेत्र उजाड भएको छ । विगतमा जल उत्पन्न प्रकोप कार्यालय र जिल्ला विकास समितिको पहलबाट कटान रोक्न प्रयास भए पनि प्रभावकारी भएन । अहिले नयाँ योजना बनाएर कटान रोक्न पहल भईरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डीराज जोशीको भनाइ छ ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर धार्मिक तथा ऐतिहांसिक महत्व बोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नका पहल गर्ने बताउँछन् ।

पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं.१ का सांसद भीम रावल वैद्यनाथ क्षेत्रको कटान रोक्नका लागि आफूले पहल गर्दै आएको बताउँछन् । रावलले नयाँ सरकार बनेपछि वैद्यनाथ क्षेत्रको कटान रोक्न स्थानीयको सुझाव सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता जनाए ।

बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ सुदूरको महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा परिचित छ । तर बुढीगंगा नदीको कटानका कारण यो क्षेत्र कुरुप बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्