खुला दिशामुक्त अभियान असफलः शौचालय बनाउनै अटेरी (भिडियो) « Image Khabar


खुला दिशामुक्त अभियान असफलः शौचालय बनाउनै अटेरी (भिडियो)


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १२:५४

सरकारले सन् २०१७ भित्र सबै जिल्लालाई खुला दिशामुक्त बनाउने घोषणा गरे पनि कपिलवस्तुमा भने त्यो अभियान असफल भएको छ ।

नेपालका ४४ जिल्ला खुला दिशामुक्त घोषणा भइसक्दा पनि कपिलवस्तुमा भने खुला दिशामुक्त अभियान असफल भएको छ ।

कपिलवस्तुलाई सन् २०१५ भित्रै खुला दिशामुक्त बनाउने लक्ष्य लिएर गाउँगाउँमा सरसफाई अभियान सञ्चालन गरिएको भए पनि हालसम्म पनि लक्ष्य पूरा नहुँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।

राजनीतिक दल तथा सरोकारवाला निकायले खुला दिशामुक्त बनाउने प्रतिवद्धता कार्यान्वयन नगर्दा समस्या भएको खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय, कपिलवस्तुका प्रमुख कैलाश नायकले बताए ।

जनचेतनाको अभावका कारण सर्वसाधारणले शौचालय निर्माणलाई प्राथमिकता दिएका छैनन् ।

विभिन्न संघसंस्था तथा सरकारी निकायले अनुदान दिँदासमेत सबै घरमा शौचालय बन्न सकेका छैनन् । अब भने शौचालय नबनाउने र अटेरी गर्नेलाई कारबाही गर्ने तयारी भएको छ ।

जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन आगामी दुई महिनासम्म आठ वटा स्थानीय तहमा योजना केन्द्रित गरिने बताइएको छ ।

खुला दिशामुक्त बनाउने अभियानमा प्रहरीसहितको टोलीले संयुक्त अनुगमन गरी खुला ठाउँमा शौच गर्नेहरुलाई कारबाही गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले बताए ।

कपिलवस्तुमा वाणगंगा र बुद्धभूमि नगरपालिका भने खुला दिशामुक्त क्षेत्र घोषित भइसकेका छन् ।

कपिलवस्तु नगरपालिकासहित शिवराज, कृष्णनगर र महाराजगन्ज नगरपालिका तथा विजयनगर, शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका अझै खुला दिशामुक्त हुन सकेका छैनन् ।

सन् २००२ देखि नै तत्कालिन जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनालगायतका संघसंस्थाले शौचालय निर्माण र सरसफाईमा करोडौं रकम खर्च गरेका छन् ।

(भिडियो) 

प्रतिक्रिया दिनुहोस्