
मेची राजमार्गको दुवैतर्फ १५ मिटर सडक विस्तार कायम गराउँदा नगर क्षेत्रका अधिकांश बासिन्दा र व्यवसायीहरु बिस्थापित हुने खतरा रहेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शुक्रबार आइतबारेमा पत्रकार सम्मलेनमा बोल्दै सघर्ष समितिका संयोजक शिवकुमार राईले एक्कासी नगरपालिका र जनप्रतिनिधीहरुले स्थानीयसंग परार्मश नगरी १५ मिटर कायम गराउने सुचना प्रकाशन गर्ने कार्य गलत भएको बताए ।
उनले हाल रहेको मेची राजमार्ग विचबाट दुवैतर्फ साढे सात मिटर कायम गराउँदा समेत चार लेनको बाटो बन्न सक्ने भएकाले नगरपालिकाले हचुवाको तालमा जनतालाई सुकुम्बासी बनाउने नियत राखेको बताए ।
सडक ऐन २०३१ लाई मिचेर नगरपालिका अघि बढेको स्थानीयबासीको आरोप छ ।
समितिका सदस्य भिष्म प्रधानले २०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार तत्काल अवस्थामै झापा–इलामको सिमाना जोरकलशदेखी माईखोलासम्म १५ मिटर कायम गर्दा आठसय भन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको बताए ।
उनले आफुहरु विकास विरोधी नभएको तर विकासका नाममा विनास निम्त्याउन नगरपालिका लागी परेको बताए ।
फिक्कलका व्यवसायी प्रभाकर प्रधानले स्थानिय सरकारले नगरबासीको परामर्श नलिइ विनासमा अगाडी बढदै गएकाले भावी दिनमा यसले ठुलो असर पुग्ने बताए ।
उनले मेची राजमार्ग भित्र पर्ने कन्याम क्षेत्रमा समेत १५ मिटर कायम गर्दै बाटो बढाउने कार्यले पर्यटनको आधार नै खतरामा पर्ने संभावना रहेको बताए ।
उनले राजमार्ग संरक्षणको जिम्मा पाएको डिभिजन सडक कार्यालय र सडक ऐन २०३१ लाई उपेक्षा गर्दै एकल निर्णयका आधारमा नगरपालिकाले विनासको सुरुवात गरेको बताए ।
सरकारी सुचना ३५ दिने निकाल्नुपर्ने प्रावधान भएपनि आफुखुशी १५ दिने सुचना निकालेर जनता त्रसित पार्ने वाहेक अन्य काम जनप्रतिनिधीहरुले नगरेको उनको आरोप छ ।
यता मेचीराजमार्ग क्षेत्राधिकार खाली गर्ने गराउने कार्य संयोजन तथा व्यवस्थापन समितिका संयोजक शिवकुमार बस्नेत आफुहरुले स्थानीय सरकार संचालन ऐन २०७४ ले राष्ट्रिय र प्रादेशिक सडकको क्षेत्राधिकार बढाउने जिम्मा स्थानीय तहलाई दिएकाले सोही ऐन अनुसार सुर्योदय नगर भित्रको मेची राजमार्ग खण्ड १५ मिटर कायम गराउने कार्य अघि बढाएको बताए ।
नगर कार्यपालिकाले गत माघ १२ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर सूर्योदय नगरपालिकाको मेची लोकमार्ग क्षेत्राधिकार खाली गराउनुपर्ने भएकाले सडकको बीच भागबाट दायाँ बायाँ १५/१५ मिटरभित्रको स्थायी तथा अस्थायी संरचना हटाउन आग्रह गरेको थियो ।
नगरपालिकाको क्षेत्रभित्र नेपाल सरकारले वि.स. २०५७ सालमा ५० वर्षे लिज सम्झौता गरी सांघाई समूहलाई दिएको कन्याम चिया बगानसमेत रहेको छ ।
कन्याम चिया बगान क्षेत्रभित्र पर्ने जग्गालाई १५ मिटर कायम गराउने विषयमा सांघाई समूहसँग छलफल भइसकेको र सरकारले सांघाई समूहसँग गरेको सम्झौतामा सडक ऐन, २०३१ ले निर्दिष्ट गरेको दायाँ बायाँ १५ मिटर क्षेत्रमा सडक विस्तारमा सांघाईबाट अवरोध नहुने सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्