
प्रदेश नम्बर २, ५, ६ र ७ मा प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो । बैठकमा सहभागि हुन सबैजसो प्रदेशसभा सांसद आ-आफ्नो अस्थायी मुकाममा पुगिसकेका छन् भने दलहरुले पनि आवश्यक तयारी गरिसकेका छन् ।
पहिलो बैठकको अघिल्लो दिन बसेको सर्वदलीय बैठकले पहिलो बैठकका एजेण्डाहरु तय गरेको छ भने सभामुख चयनका लागि सहमतिसमेत गरेको छ ।
सबै प्रदेशमा आजको बैठक जेष्ठ सदस्यले सञ्चालन गर्नेछन् । उनले सुरुमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्वन्धी पत्र पढेर सुनाएलगतै प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गरिने छ ।
सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रदेशसभाका केही सदस्य मनोनयन पनि पहिलो बैठकले नै गर्नेछ । त्यसपछि सभामा उपस्थित दलका एक/एक जनालाई सम्बोधन गर्न समय दिइनेछ ।
बैठकले प्रदेशसभा नियमावली मस्यौदा समिति गठन पनि गर्नेछ । यद्यपि, प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुले अझैपनि आफ्नो दलका नेता चयन गर्न सकेका छैनन् ।
मूख्यमन्त्री बनाउने विषयमा पनि दलहरुले अझै निर्णय गर्न सकेका छैनन् ।
यसैबीच, प्रदेश नम्बर २ मा फागुन २ गते सभामुख चयन गर्ने सहमति गरिएको छ । जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा प्रदेशसभाको पहिलो बैठक बस्नेछ ।
प्रदेश नम्बर ५ को प्रदेशसभा अधिवेशन बुटवल उद्योग वाणिज्य संघको हलमा गरिनेछ ।
रुपन्देहीका जेष्ठ सदस्य ७९ बर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नेछन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्यले सम्बोधन गर्ने छन् ।
प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक सुर्खेतको वीरेन्द्रनगरस्थित सिंचाई विकास डिभिजनको हलमा बस्नेछ ।
पहिलो बैठकमा प्रदेशका जेष्ठ सदस्य हिमबहादुर शाहीले सभामुखको जिम्मेवारी निर्वाह गर्नेछन् ।
सभामुखको चुनावका लागि माघ २९ गते मिति तोक्ने गरी एजेण्डा तय गरिएको प्रदेश संसद सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिएका छन् ।
प्रदेश नम्बर ६ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा नेपालको प्रतिनिधित्व छ । यस प्रदेशमा ४० जना सांसद छन् ।
यसैगरी धनगढीमा बस्ने प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक सञ्चालनका लागि तयारी सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्