ओली–दाहाललाई राष्ट्रपति भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने इच्छा • Image Khabar Image Khabar


ओली–दाहाललाई राष्ट्रपति भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने इच्छा


Imagekhabar
२२ माघ २०७४, सोमबार ०६:५४

ओली–दाहाललाई राष्ट्रपति भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने इच्छा

शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे ।

‘उहाँहरू (ओली–दाहाल) सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा.अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकोले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन ।’

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् ।

अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् । ‘आम जनमत एमाले–माओवादीबीच एकताकै पक्षमा छ, तपाईंहरूले पार्टी एकता गर्नुहोस्’, राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपति÷उपराष्ट्रपति चुनावका सन्दर्भमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस् ।’

आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति÷उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्‍याउन आग्रह गरेकी थिइन् ।

एमाले अध्यक्ष ओली आफ्नो पक्षमा सकारात्मक नै रहेको ठानेकी भण्डारीले दुवै नेतालाई सँगै राखेर आफूहरूको निरन्तरताको प्रतिबद्धता चाहेकी स्रोत बताउँछ । राष्ट्रपति भण्डारीले पुनः राष्ट्रपतिमा दोहोरिने इच्छा यसअघि माओवादी अध्यक्ष दाहालसँग राखिसकेकी थिइन् । भण्डारीले दाहाल परिवारलाई २८ पुसमा शीतलनिवासमै बेलाएर डिनर दिएकी थिइन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्