२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालका २५० चामल उद्योग बन्द, भारतबाट धमाधम चामल आयात


117
Shares

स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।

एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् । प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् । हाल ४०/५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए ।

अवैध बाटोबाट पनि दैनिक ठूलो परिमाणमा चामल भित्रिन्छ । पेसेवर ढुवानीकर्ताहरूले वीरगन्जका किराना पसलहरूसम्मै चामल ढुवानी गरी ल्याइदिने गरेकाले नेपाली चामलभन्दा सस्तो पर्ने भारतीय चामल सहजै बजारमा पाइन्छ ।

एक अर्बको चामल आयात

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ ।

२ वर्षअघि ६ महिना लामो बन्द हडतालमा ७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान व्यहोरेका यहाँका चामल उद्योगले बन्द हडतालपछि पनि धान अभाव र लोडसेडिङजस्ता समस्या व्यहोर्नुपरेको मोहित एग्रो इन्डस्ट्रिजका व्यवस्थापक एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेम्प्टेम्बर ९ बाट फुकुवा गरेपछि त्यसयता भारतबाट तयारी चामल ठूलो परिमाणमा आयात हुन थालेको छ । तर, भारतबाट धान आयात गर्न भने झन्झट छ ।

भारतले धान निर्यातमा कोटा लगाएकाले यहाँका उद्योगीले चाहेजति धान भारतबाट आयात गर्न सक्दैनन् । त्यही धान आयात गर्न दिल्ली पुगेर त्यहाँस्थित कृषि विभागको अनुमति र पटनाबाट पनि त्यसलाई कार्यान्वयन गराउनुपर्ने अवस्था रहेको छ ।

मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहाँका उद्योगले नै गर्दै आएका छन् । राजधानीको चामलको आधा बजार पनि यी दुवै जिल्लाका उद्योगले धान्दै आएका छन् । –कान्तिपुर दैनिकबाट