२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रपतिबाट सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण (भिडियोसहित)


0
Shares

भूकम्पप्रतिरोधात्मक सुविधासम्पन्न ४७ ओटा घर राष्ट्रपतिले समुदायलाई हस्तान्तरण गरेकी हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं नै उपस्थित भएकी हुन् ।

मंगलबार एक कार्यक्रमबीच राष्ट्रपतिले बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई बस्तीको साँचो हस्तान्तरण गरिन् ।

बस्ती हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो समाजसेवामा सबैजना लाग्नुपर्नेमा जोड दिइन् ।

देशको उन्नतिका लागि सबै क्षेत्र, वर्ग र समुदायको समान र सन्तुुलित विकास गर्न जरुरी रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार बनाइएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । यो सफलता सबै नेपालीको भएको पनि उनको भनाइ छ ।

कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा भवन निर्माण गरिएको हो ।

बाढीपीडित दलित परिवारका लागि भूकम्पप्रतिरोधात्मक सुविधासम्पन्न ४७ ओटा घर निर्माण गरिएको छ ।

गत असोज ४ मा शिलान्यास गरिएको नमुना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, भ्यू टावरसमेत बनाइएका छन् ।

गत साउनमा आएको बाढीले गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मस–सुन्तलीको पहलमा सुविधासम्पन्न घर बनाइएको हो ।

करिब ५ करोड ९६ लाख रुपैयाँको लागतमा निर्मित बस्तीमा कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गरेका थिए । धुर्मस–सुन्तली फाउन्डेसनको यो चौंथो परियोजना हो ।

बस्ती हस्तान्तरण कार्यक्रममा लोकप्रिय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं देश तथा विदेशका विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

भिडियो हेर्नुहोस्