
माघ १२ गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनभित्र उद्योग दर्ता गर्ने समयसीमा दिएसँगै मंगलबारसम्ममा पाँचओटा उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।
थापाकाअनुसार इस्तियाक अहमद खाँको सुगम नानो हर्बल, श्रद्धा तिमिल्सिनाको आइडीएस इनर्जी र गार्मेन्ट उद्योग, अमिरप्रताप राणाको किरण सुज दर्ता भएका छन् ।
त्यस्तै, मेहेन्द्रकुमार गोयलको एक्सेल गार्मेन्ट प्रोसेसिङ तथा रवीन्द्रमान श्रेष्ठको मिनरल वाटर प्रोसेसिङ पनि दर्ता भएका छन् । अरु जुस उद्योगहरु दर्ताको प्रकियामा रहेको थापाले बताए ।
सेज व्यवस्थापनले १२ माघमा उद्योग दर्ताका लागि दिएको समय माघ २४ गते बुधबार सकिँदैछ ।
प्रवक्ता थापाले उद्योग सन्चलानमा समझदारी गरेका १९ ओटा उद्योगमध्ये १२ ओटा उद्योगले दर्ताका लगि फाराम लगेको उल्लेख गर्दै दर्ताका लागि आउनेक्रम पनि जारी रहेको बताए ।
सो समयभित्र सबै उद्योगले दर्ता नगरे नयाँ उद्योगका लागि पुनः आह्वान गरिनेछ भने पूरानो सम्झौता खारेज हुनेछ ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ विगाहा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा १४ सय देखि ३७ सय वर्गमिटरसम्मका ६९ ओटा प्लटहरु रहेका छन् ।
त्यसमध्ये उद्योग सन्चालन र उद्योग स्थापनाका लागि ‘एमओइ’ गरेका १९ ओटा उद्योगले ५८/५९ ओटा प्लटको माग गरेको प्रवक्ता थापाले जानकारी दिए ।
उनले यस विशेष आर्थिक क्षेत्रभित्र खाद्यउद्योग, कृषिजन्य हर्बल प्रोडक्टस्, छालाको वस्तु, तयारी पोसाक, हस्तकला, धातु तथा प्लास्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताए । ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्