
मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलकाअनुसार दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन् ।
चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ ।
त्यसैगरी, अपांग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भएका छन् । उनको मतभार पाँच हजार ३४० रहेको छ भने उनका प्रतिद्वन्द्वी कांग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ ।
त्यसैगरी, खुला तीन पदमा एमाले, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, कांग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।
तीनै उम्मेदवारले ल्याउनुपर्नेभन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एकजना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो ।
तीन महिला भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश नम्बर–५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुईजना अनुपस्थित रहे ।
रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बनेकी बीना पन्त र बाँकेबाट संघीय समाजवादी फोरम नेपालबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहे ।
प्रदेश नम्बर–५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६ तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए ।
राष्ट्रियसभा सदस्यमा विजयीलाई बिहीबार बिहान निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्