कोरला नाका खुलाउन पहल • Image Khabar Image Khabar


कोरला नाका खुलाउन पहल


Imagekhabar
२५ माघ २०७४, बिहीबार १४:५०

कोरला नाका खुलाउन पहल

कोरला नाका सन्चालनका लागि पहुँचमार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ ।

कोरला नाकानजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघि नै सन्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ ।

सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिकरुपमा कोरला नाकाको भ्रमण गरेकी थिइन् ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उत्तर–दक्षिण जोड्ने कालीगन्डकी कोरिडोरअन्तर्गत् बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररुपमा अघि बढेकोे जानकारी दिए । उनले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको बताए ।

जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरुपमा यातायातको पहुँच पुर्‍याउन आयोजनामार्फत् पाँचओटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ । करिब ४० प्रतिशत काम सकिएको छ ।

बेनी–जोमसोम सडकखन्ड निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्ररुपमा भइरहेको छ ।

कालीगन्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो सडकमार्ग हो ।

कोरला नाकालाई लक्ष्य गरेर सरकारले सीमा प्रहरीचौकी र प्रशासन कार्यालय स्थापना गरिसकेको छ । लोमान्थाङ गाउँपालिकाको छोसेरमा नेचुङ भन्सार कार्यालय वि.सं. २०७३ असारमा २१ वर्षपछि पुनःस्थापना भएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प तथा अध्यागमन कार्यालय स्थापनाका लागि जग्गा प्राप्त भइसकेको छ ।

लोमान्थाङदेखि कोरला नाकातर्फ जाने बाटोमा करिब पाँच किलोमिटर उत्तरतर्फ सेनाको क्याम्प राख्न २०० रोपनी जग्गा उपलब्ध भएको र सो ठाउँमा सेनाले भवन निर्माण सुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

कोरलादेखि तिब्बतको मुख्य राजमार्गको बजार क्षेत्र ढुङ्वासेन ४५ किलोमिटर टाढा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्