तीनकुनेमा अब के गरिँदैछ ? (भिडियो) • Image Khabar Image Khabar


तीनकुनेमा अब के गरिँदैछ ? (भिडियो)


Imagekhabar
२५ माघ २०७४, बिहीबार १६:१२

तीनकुनेमा अब के गरिँदैछ ? (भिडियो)

पार्क बनाउनका लागि २०३१ सालमा सरकारले करिब ५४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही पार्क बनाउन केमात्रै योजना बनेनन्, तर काम भने आधा शताब्दीनजिक हुँदा पनि हुन सकेको छैन ।

वर्षौंअघि काठमाडौं महानगरपालिकाले उपत्यकाको तीनकुनेमा सुन्दर पार्क निमार्ण गर्ने योजना बनायो । तर, दुर्भाग्य भन्नुपर्छ, योजना कार्यान्वयनका ४३ वर्ष बित्दा पनि तीनकुने व्यवस्थित हुन सकेन ।

पार्क बनाउनकै लागि यस ठाउँलाई देखाएर करोडौं रकम पनि सकाइए । तर, अहिले यहाँ न कुनै बोटविरुवा भेटिन्छन्, न त कुनै पार्क भन्नलायक सामग्री नै ।

सन् २००२ मा सम्पन्न ११औं सार्क शिखर सम्मेलनका समयमा रातारात पार्क बनाइएको थियो । तर, पछि फेरि महानगरपालिकाले तीनकुनेको खुलाचौरमा आध्यात्मिक तथा धार्मिक पर्यटन केन्द्रसहितको व्यवस्थित पार्क बनाउने भन्दै त्यसबेला निर्माण गरिएको पार्क भत्काएको थियो ।

तर, सन् २०१४ मा नेपालमा सम्पन्न १४औं सार्क शिखर सम्मेलनसम्म पनि पार्क निर्माणले गति लिन सकेन ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकैपर्ने तीनकुनेको लज्जा भने चारैतिर ठड्याइएका टिनका जस्ताले छेकिदिनुपरेको छ ।

गत वैशाखमा महानगरपालिकाले पार्क निर्माणको कामलाई निरन्तरता दिने भन्दै काम थालेपनि ९ महिनासम्म सार्क सम्मेलनको समयमा बेरिएका जस्तापाता खोल्ने, फोहोर व्यवस्थान गर्ने र भुइँ सम्याउने र भित्री बाटोको खाका बनाउने काममात्र भएको छ ।

बरु, त्यहाँ त अहिले गाडी पार्किङ गर्ने, मोटरसाइकल तथा चारपांग्रे सवारी–साधन सिक्ने र विद्यालयहरुले खेल मैदानकोरुपमा उपयोग गरेका छन् ।

वर्षौंअघि मुअब्जाको विवादका कारण रोकिएको पार्क निर्माण अहिलेपनि त्यही विवादमा अल्मलिरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मुआब्जा विवादले नै पार्क निर्माणमा ढिलाइ भएको बताए ।

नेपाल सरकारले २०५३ सालमा तोकेबमोजिम केही जग्गाधनीले मुआब्जा लिएको र केहीले अझै लिन बाँकी रहेको उनको भनाइ छ ।

यसलाई तीनकुने पार्क, आधुनिक बगैंचा, शान्तिमन्डला अनेक नाम दिइयो । तर, अहिलेसम्म केही बन्न सकेन । वर्षेनि एक करोड रुपैयाँ पार्क निर्माणका लागि छुट्याइन्छ । तर, काम भने केही हुन्न ।

अब पहिलेको योजनाअनुरुप पार्क बनाउन नसकिने भन्दै कार्कीले असरल्ल नछाडी जग्गाको वरिपरि बोटविरुवा लगाउने, बत्ती राख्ने र बीचमा नेपालको झन्डामात्र भएपनि राख्ने योजना रहेको बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्