१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ताप्लेजुङलाई प्रदेश कै प्रमुख पर्यटकीय क्षेत्र बनाउन पाथीभरा पर्यटन महोत्सवको तयारी


0
Shares

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न फागुन १ देखि ३ गतेसम्म महोत्सव गरिने भएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्मले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र आफैंमा जैविक विविधता र धार्मिक हिसाबले मुलुककै पर्यटकीय गन्तव्य हो । यहाँ वर्षेनी स्वदेशी तथा विदेशी तीन लाख तीर्थयात्री पुग्ने गरेको दावी गरिन्छ ।

मन्दिरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंघा, मलालु, ल्होत्से, कुम्भकर्णलगायतका हिमाल र भारतको सिक्किमका अधिकांश भू–भाग अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा रेडपाण्डा, डाँफेजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र अनेक वनस्पति पाइन्छ भने २८ प्रजातिका लालिगराँस, एक सय बढी प्रजातिको सुनाखरी पाइन्छ ।