२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रेलमार्ग निर्माणले गति लिएन (भिडियो रिपोर्ट)


0
Shares

मुआब्जा विवाद र वनका रुख कटानमा भएको ढिलाइले रेलमार्ग निर्माणमा ढिलाइ भएको हो ।

बर्दिवास–सिमरा १०८ किलोमिटर छुट्टाछुट्टै खन्ड विभाजन गरी सर्लाहीको रानीगन्जबाट काम सुरु भएको तीन वर्ष ६ महिना बितिसक्दासमेत विद्युतीय रेलको ट्रयाक बनाउने काम नै भइरहेको हो ।

अहिले बर्दिवासदेखि लालबन्दीसम्म ९ खन्डमा काम भइरहेको छ । जसमा एक खन्डको १० प्रतिशत, दुईमा १०, तीनमा १०, ४ मा ७०, ५ मा ८२, ६ मा ८०, ७ मा ९५ र ८ मा पूरा काम भइसकेको छ ।

यसैगरी, ९ मा ५० प्रतिशत काम भएको छ । बर्दिवास क्षेत्रमा पर्ने खन्ड ९ मा मुआब्जा विवाद कायमै रहेकाले निर्माणकार्य अघि बढाउन समस्या भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको योजनामा राखेपनि प्राथमिकता नदिएकाले रेलमार्ग निर्माणकार्यले गति लिन नसकेको रेल विभाग साइट कार्यालय बर्दिवासका इन्जिनियर विश्व केसीले बताए ।

रेलमार्ग निर्माण भएको एक वर्षसम्म मुआब्जा विवाद र र वनको रुख कटानमा भएको ढिलाइले प्रभावकारीरुपमा काम हुन नसकेको ठेक्का पाएको निर्माण कम्पनीका इन्जिनियर शंकर ढुंगेलले बताए ।

पहिलो चरणमा बर्दिवास–सिमरा खन्डमा निर्माण हुने रेलमार्गको ट्रयाक बनाउने कार्यको २०७१ असार १ गते शिलान्यास भएको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल रेलमार्ग निर्माणमा देखिएको मुआब्जाको विवाद समाधान गर्दै निर्माणकार्यलाई गति दिन आफूले दबाब दिइरहेको दाबी गर्छन् ।

निर्माण कम्पनीकाअनुसार रेलमार्ग बनाउन एकदेखि तीनसम्म खन्डको ४० करोड रुपैयाँका दरले तथा ४ देखि ९ खन्डमा निर्माणका लागि ५० करोड रुपैयाँका दरले ठेक्का लागेको छ ।

त्यसैगरी, रेलमार्गमा पर्ने फूलजोर, कालिन्जोरजस्ता खोलामा ठूला पुल निर्माण गर्न छुटै ठेक्का लागेको छ । रेलमार्ग निर्माणका लागि साढे ४ अर्ब रुपैयाँमा ठेक्का सम्झौता लाग्ने चरणमा रहेको छ ।

ठेक्का लागेपछि महोत्तरीको बर्दिवासदेखि रौतहटको चाँदनीखोलासम्म १० ओटा पुल निर्माणको काम गरिनेछ ।

भिडियो हेर्नुहोस्