प्रदेश–५ मा मन्त्रालय स्थापना तर कर्मचारी छैनन् (भिडियो) • Image Khabar Image Khabar


प्रदेश–५ मा मन्त्रालय स्थापना तर कर्मचारी छैनन् (भिडियो)


Imagekhabar
२७ माघ २०७४, शनिबार २०:०२

प्रदेश–५ मा मन्त्रालय स्थापना तर कर्मचारी छैनन् (भिडियो)

अस्थायी राजधानी बुटवलमा प्रदेश मन्त्रीस्तरीय कार्यालय र अरु कार्यालयहरु स्थापना भइसकेका छन् । तर, आवश्यक कर्मचारी अझै पुगेका छैनन् ।

प्रदेश नम्बर–५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित आवश्यक सबै मन्त्रालय स्थापना भइसकेका छन् ।

बुटवलस्थित श्रम कार्यालयमा मुख्यमन्त्रीको कार्यालयसहित तीन मन्त्रालय राखिएका छन् । अरु मन्त्रालय भने सीप तथा तालिम केन्द्र, यातायात कार्यालय र भूमिगत सिँचाइ परियोजनाको भवनमा स्थापना गरिएको छ ।

प्रदेश सरकारका लागि मन्त्रालय र कार्यालय व्यवस्थापन भएपनि सरकारले खटाएकामध्ये अहिलेसम्म आधापनि कर्मचारी पुगेका छैनन् ।

कर्मचारी नै नभएपछि काम गर्न समस्या भएको मुख्यमन्त्रीको कार्यालयका सचिव दीपेन्द्र काफ्लेले बताए ।

मुख्यमन्त्रीको कार्यालय रहेको भवनमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालयका बोर्डसमेत राखिएको छ । पहिलो, दोस्रो र तेस्रो तलामा यी मन्त्रालय रहनेछन् ।

बुटवल, रामनगरमा रहेको सीप विकास तालिम केन्द्रको भवनमा सामाजिक विकास मन्त्रालय रहनेछ भने यातायात व्यवस्था कार्यालयको भवनमा भौतिक पूर्वाधार मन्त्रालय राख्ने तयारी गरी मर्मतकार्य भइरहेको छ ।

कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालयमा राखिने भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुरले जानकारी दिए ।

मुख्यमन्त्री र मन्त्रालयहरु बुटवलमा राखिएपनि मन्त्रीहरुको निवास भने भैरहवामा बनाइँदैछ । तर, कर्मचारी नहुँदा प्रदेश सरकार गठनको अन्तिम तयारीमा रहेको प्रदेश संसदलाई कामकाज गर्न समस्या हुने निश्चित भएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्