२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अब देशको कायापलट हुन्छ : प्रधानमन्त्री, चमेलिया जलविद्युत्को उद्घाटन


0
Shares

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गर्दै उनले वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रसेका सभापति एवं प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी संघीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

उनले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताए ।

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा क्षेत्रबाट नै देशको विकास हुने बताए ।

चमेलिया जलविद्युत् आयोजना ७ नम्बर प्रदेशकै ऊर्जाको ढोका भएकाले अब यस क्षेत्रमा लगानी वृद्धि हुनेमा उनले विश्वास व्यक्त गरे ।

सरकारी स्तरबाट प्रदेश नम्बर–७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो ।

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुग्न गयो । निर्माण सुरु भएको झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन गरेको हो ।

जलविद्युत् आयोजनाको निर्माणसँगै स्थानीयमा विकास निर्माणदेखि रोजगारीमा ठूलो फाइदा पुगेको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित् लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको हो ।

आयोजनाको दुईओटै युनिटबाट १५/१५ गरी ३० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

आयोजनाले दार्चुलाको बलाचबाट कैलालीको अत्तरियासम्म १३१ किलोमिटर लम्बाइको प्रसारणलाइनसमेत निर्माण गरेकाले यहाँको उत्पादन सीधै राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ  ।

रु ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लागत पुगेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन हुनेछ । रासस