
पशुपतिनाथ मन्दिरमामात्रै लाखौं भक्तजनले दर्शन तथा पूजा–आराधना गरेका छन् ।
पाशुपत क्षेत्र बिहानैदेखि निकै रंगिन र झकिझकाउ बनेको थियो । महाशिवरात्रिका पर्वका लागि देश–विदेशका विभिन्न स्थानबाट आएका भक्तजनहरुको घुइँचोले पाशुपत क्षेत्र रंगिन बनेको हो ।
धार्मिकरुपमा निकै महत्व बोकेको महाशिवरात्रिका दिन भगवान शिवको विशेष पूजा–आराधना गर्ने र व्रत बस्ने प्रचलन रहेको छ ।
महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले राम्रो व्यवस्थासमेत मिलाएको छ ।
भक्तजनहरुलाई दर्शन गर्ने व्यवस्था, स्वास्थ्य शिविर, सुरक्षा, भोजन र सरसफाइलगायतको राम्रो प्रबन्ध मिलाएको छ ।
यस वर्षदेखि गाँजा, भाङजस्ता नशालु पर्दाथको प्रयोगमा बन्देज लगाउने भनिएपनि पाशुपत क्षेत्रमा गाँजा–भाङ सेवन गर्ने तथा बिक्री गर्नेहरुको कुनै कमी थिएन ।
आफ्नो परिवारको सुख–शान्तिको कामना गर्दै भगवान शिवको पूजा–आराधना गर्न पाशुपत क्षेत्र आएका भक्तजनहरु भने नागाबाबाहरुबाट धेरै नै आजित भएका थिए ।
नागाबाबाहरुका क्रियाकलाका कारण लाइन बसेर दर्शन गर्नेहरुले अप्ठ्यारो अवस्था भोग्नुपरेको गुनासो गरेका थिए ।
यस्तै, दर्शन गर्न आएका केही भक्तजहरुलाई भने देशको नै चिन्ता लागेजस्तो देखिन्थ्यो । देश छिट्टै विकास हुँदै जाओस् भन्ने कामना गर्दै मन्दिर आएको उनीहरुले बताए ।
शिवरात्रिको व्रतलाई सर्वोत्तम व्रत मान्ने गरिन्छ । महाशिवरात्रिको व्रत बस्दा भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धी लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
यसदिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्