Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बहुविवाह बढ्दो, उजुरी न्यून : श्रीमानको बुद्धि कुनै दिन फर्केला भनेर कुर्दैछन् पीडित महिला


0
Shares

जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आर्थिक वर्षमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आर्थिक वर्षमा दुईवटा तथा गत आर्थिक वर्षमा एउटामात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालले जानकारी दिए ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार माना चामल, अंश, सम्बन्धविच्छेदजस्ता प्रकृतिका केही मुद्दामा दुईवटी श्रीमती भएको देखिन्छ । तर पनि बहुविवाहको प्रसंग नै आउँदैन । यसरी बहुविवाहविरुद्ध मुद्दा कम पर्नुका कारण बहुविवाह एउटा अपराध हो, उजुरी गर्नुपर्छ भन्ने जानकारी पीडितलाई नभएको हुन सक्छ । साथै, कानूनी अज्ञानताका कारण गाउँ समाजमा मेलमिलाप गराउने प्रचलन भएको पनि हुनसक्ने उनको भनाइ छ ।

न्यायाधीश श्रेष्ठका अनुसार भद्रभलादमी बसेर बहुविवाहका मुद्दा गाउँमै मिलाउनु गैरकानूनी प्रक्रिया हो तर पनि गाउँ समाजमा मिलेर बस्नुपर्छ भन्ने सोचका कारण यस्ता प्रवृत्तिले अदालतमा प्रवेश नपाएको हुनसक्ने उनले बताए ।

यस्तै जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार जिल्लामा बहुविवाहका घटना प्रसस्तै छन् । तर पनि कतिपय महिलाले आफ्नै श्रीमान् त हो किन कानूनी दायरामा ल्याउनु भन्ने सोचले क्षमा दिने गरेका छन् । करिब एक वर्षको रोल्पा बसाइका क्रममा अन्य जिल्लाको तुलनामा बहुविवाहका मुद्दा निकै कम मात्र दर्ता भएको उनले बताए ।

यस्तै, सरकारवादी मुद्दा पनि अन्य जिल्लाको तुलनामा कम नै दर्ता भएका छन् ।

जिल्लामा मागी विवाहभन्दा प्रेम विवाह गर्नेको संख्या ठूलो छ । यसरी परिपक्व नभई एकदमै सानो उमेरमा विवाह बन्धनमा बाँधिएका सम्बन्ध परिपक्वता आएपछि सुमधुर बन्न सक्दैन जसका कारण दोस्रो, तेस्रो विवाह गर्ने गरेको पाइन्छ ।

‘यसरी पढ्ने उमेरमा विद्यालय छोडेर विवाह बन्धनमा बाँधिएका महिला आर्थिक हिसाबले निकै कमजोर छन्, जसका कारण उनीहरु श्रीमानको कमाइमा निर्भर हुनुपर्ने बाध्यता छ । यसरी स्वावलम्बी हुन नसक्नुका कारण उनीहरुले बहुविवाहका मुद्दालाई बाहिर ल्याउन चाहदैनन् बरु जीवनभर हिंसा सहेर बाँच्न तयार हुन्छन्,’ उनले भने ।

अर्यालका अनुसार जिल्लामा बहुविवाह गर्ने महिलाभन्दा पुरुषको संख्या बढी छ । तर पनि कानूनी सचेतनाको अभावका कारण बहुविवाहमा दण्डहीनताको अवस्था रहेको छ ।

यसरी हुने बहुविवाह अन्त्यका लागि स्थानीय तहमार्फत कानूनी सचेतनाका कार्यक्रमहरु गाउँगाउँमा पुग्नुपर्ने, शैक्षिक जागरणमा जोड दिनुपर्ने तथा बहुविवाहमा दण्डहिनताको अन्त्यगरी कानूनी दायरामा ल्याउनुपर्ने देखिन्छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार कतिपय अवस्थामा पीडित महिला श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लगाउन नदिएको भन्दै प्रहरीमा उजुरी गर्न आइपुग्छन्, तर बहुविवाहको कुरा नै उठाउन चाहन्नन् ।

धेरैजसो पीडितले बहुविवाह एक किसिमको अपराध हो भन्ने कुरा बुझेकै छैनन् भने बुझेकाहरुले पनि श्रीमानको कुनै दिन बुद्धि फर्केला भनेर कुरेर बस्ने गरेको पाइएको छ । (रासस)