
विराज रोस्यारा (इमेज)
कैलाली, फागुन २ । प्रदेश नम्बर–७ का प्रदेशप्रमुख मोहनराज मल्लले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् ।
प्रदेशप्रमुखको कार्यालय धनगढीले नेपालको संविधान २०७२ को धारा १८६ को उपधारा २ बमोजिम प्रदेशसभा सदस्यको बहुमत समर्थन स्पस्ट देखिने गरी फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेशप्रमुखको कार्यालयमा दाबी पेस गर्न भनिएको छ ।
प्रदेश–७ मा कुनै दलको पनि स्पस्ट बहुमत नदेखिएकाले यसरी बहुमतसहित दाबी पेस गर्न भनिएको प्रदेशप्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले जानकारी दिए ।
मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसँग प्रदेशप्रमुख मोहनराज मल्लले बुधबारै आफ्नो कार्यालयमा बोलाएर छलफल गरेको उनले जानकारी दिए ।
प्रदेशमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल गरिएको हो ।
निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्र प्रदेशसभामा बहुमतप्राप्त दलको नेता वा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त दलको नेतालाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
कुनैपनि दलको बहुमत नभए वा निर्धारित् अवधिमा दलहरुले बहुमत पुर्याएको पत्र प्रदेशप्रमुखलाई बुझाउन नसके प्रदेशको ठूलो दलको नेतालाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले ६ महिनाभित्र प्रदेश संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।
प्रदेशसभाको सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । मन्त्रीका लागि पनि एमाले र माओवादीभित्र सांसदहरुले ‘लबिङ’ थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्