
भक्तपुर, फागुन २ । भक्तपुरको सल्लाघारीस्थित एउटा गार्मेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरेको छ ।
एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घन्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।
टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसरकुकर बम भेटेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्नेगरी प्रेसरकुकरमा केही विस्फोटक पदार्थ राखेको भन्ने खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरेको जानकारी दिए ।
सेनाको टोलीले बम निस्क्रिय पारेको जानकारी दिँदै उनले घटनाबारे अनुसन्धान सुरु गरेको बताए ।
बम भेटिएपछि अरनिको राजमार्ग भएर गुड्ने यातायाताका साधनलाईसमेत दुई घन्टा गुड्न रोक लगाएको थियो ।
सवारी–साधनलाई राधेराधेबाट निकोसेरा हुँदै पठाउँदा राधेराधेबाट सल्लाघारीसम्मको सडक बन्द भएको थियो ।
दुई सुरक्षा गार्ड रहेको सो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, मंगलबार राति चाँगुनारायण नगरपालिका सुडालमा रहेको एनसेलको टावरमा पनि विस्फोट गराएको थियो ।
अज्ञात समूहले राति करिब १० बजे गराएको विस्फोटबाट ऐनसेल टावरको ब्याट्रीलगायतका केही सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्