
विनोदसिंह विष्ट (इमेज)
बैतडी, फागुन २ । बैतडीमा चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।
उपचारका लागि काठमाडौं पठाइएकामा शत्रुमर्दन गुल्म बैतडीमा कार्यरत् हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
बुधबार अपराह्न हेलिकोप्टरमार्फत् पठाइएका उनीहरुको काठमाडौंस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
मंगलबार साँझ ७ बजेर ५० मिनेटमा वर्षासँगै परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत् कठपतेमा तालिम गरिरहेका २२ जना सैनिक घाइते भएका थिए । बाँकी घाइते १७ सैनिकको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
सामुदायिक तालिम २०७४ अन्तर्गत्को पहिलो चरणको अभ्यासका लागि शत्रुमर्दन गुल्मका सैनिक गत पुस १६ गतेदेखि कठपतेमा तालिम गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्