
रौतहट, फागुन २ । रौतहटमा वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् ।
विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।
झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन् ।
नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रविन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप सुरु भएकोे बताइएको छ ।
स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपातसमेत गरेको नगरप्रमुख रामस्नेही यादवले बताए ।
स्थानीयवासीको आक्रमणबाट ५० भन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नस्ट भएको नगरप्रमुख यादवले बताए ।
स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताए ।
नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्