२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ओलीद्वारा सरकार गठनका लागि दाबी पेश, आजै प्रधानमन्त्री नियुक्त गरिने


0
Shares

काठमाडौं, फागुन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

वाम गठबन्धनका शीर्ष नेतासहित राष्ट्रपति भवन शीतल निवासमा पुगेर ओलीले नयाँ सरकार गठनको दाबी पेश गरेका हुन् ।

वाम गठबन्धनले यसअघि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । सोही निर्णय लिएर ओलीले राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले शीर्ष नेताहरु शितल निवास पुगेका थिए ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ । संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाइएको हो ।

ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । वाम गठबन्धनसँग संसद्मा झण्डै दुई तिहाई बहुमत भएकाले ओलीको नाम स्वतः अनुमोदन हुने छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको स्वरुपबारे थप निर्णय गर्ने एमाले र माओवादीको तयारी छ । ओली यसअघि २०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।