राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाद्वारा राजीनामा • Image Khabar Image Khabar


राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाद्वारा राजीनामा


Imagekhabar
३ फाल्गुन २०७४, बिहीबार १२:०९

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाद्वारा राजीनामा

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालयबाटै राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनाको घोषणा गरेका थिए ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा तीन चरणका निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर राष्ट्रलाई संक्रमणकालबाट मुक्त गराउनुलाई आफ्नो मुख्य सफलता भएको बताए ।

उनले निर्वाचन गराउनकै लागि आफू प्रधानमन्त्री बनेको भन्दै यसलाई ठूलो उपलब्धीका रुपमा आफूले लिएको बताए । उनले आफ्नो कार्यकालमा गरेका अन्य कामको फेहरिस्तसमेत प्रस्तुत गरे ।

प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण भूमिका आफूले निर्वाह गरेको बताए ।

उनले मुलुकको संक्रमणकाल समाप्त भएसँगै मुलुक अब आर्थिक विकासको मार्गमा प्रवेश गरेको भन्दै नेपालमा लगानी गर्न लगानीकर्ताहरु उत्सुक भएको बताए ।

उनले आफ्नो कार्यकालमा परराष्ट्र नीतिलाई पनि सन्तुलित बनाएको दाबी गरे

प्रधानमन्त्री देउवाले आफू सरकारको नेतृत्वमा नरहे पनि नेपाली जनताको सुखदुःखमा साथै रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

संविधानअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएकाले प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथो पटक प्रधानमन्त्री बनेका देउवाले आफ्नो दायित्व पूरा गरेर बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्