
काठमाडौं, फागुन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनको आजै अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा सपथ गराउने कार्यक्रम तय भएको छ ।
ओलीलाई प्रधानमन्त्री बनाउन वाम गठबन्धनले दावी पेश गरेसँगै राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
वाम गठबन्धनका शीर्ष नेतासहित राष्ट्रपति भवन शीतल निवासमा पुगेर ओलीले नयाँ सरकार गठनको दावी पेश गरेका हुन् ।
वाम गठबन्धनले यसअघि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । सोही निर्णय लिएर ओलीले राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरेका हुन् ।
राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले शीर्ष नेताहरु शितल निवास पुगेका थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ ।
संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाइएको हो ।
वाम गठबन्धनसँग संसद्मा झण्डै दुई तिहाई बहुमत भएकाले ओलीको नाम स्वतः अनुमोदन भएको हो ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको स्वरुपबारे थप निर्णय गर्ने एमाले र माओवादीको तयारी छ । ओली यसअघि २०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्