प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को हुन् ? • Image Khabar Image Khabar


प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को हुन् ?


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार १४:३६

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को हुन् ?

लामो राजनीतिक यात्रापछि गुरुङलाई प्रदेश–४ को पहिलो मुख्यमन्त्रीको हैसियतले काम गर्ने अवसर मिलेको हो ।

यसअघि, मन्त्रीसमेत भइसकेका गुरुङलाई एमालेभित्र कुशल संगठककारुपमा पनि चिनिन्छ ।

२०१४ साल फागुन १ गते लमजुङमा जन्मिएका पृथ्वी सुब्बा गुरुङ नेकपा एमालेका केन्द्रीय सचिवसमेत हुन् ।

वि.सं. २०३४ सालदेखि राजनीतिमा लागेका गुरुङ २०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर सक्रिय राजनीतिमा आएका थिए ।

लमजुङको भोर्लेटारस्थित इशानेश्वर स्कुलमा अनेरास्ववियुको स्ववियु सचिव भएर काम गरेका उनी अमृत साइन्स क्याम्पस पुग्दा राजनीतिको बलियो खम्बा बनिसकेका थिए ।

वि.सं. २०३५ सालमा मालेबाट लमजुङको मध्य–उत्तर इलाका सदस्य, २०३६ सालमा पश्चिम–उत्तर इलाका सदस्य हुँदै २०३७ सालमा मालेको पार्टी सदस्यता पाएका उनी २०४० मा लमजुङको जिल्ला कमिटी सदस्य बनेका थिए ।

वि.सं. २०४८ मा भएको पहिलो जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटीको सचिवमा निर्वाचित गुरुङ दोस्रो कार्यकाल पूरा गर्दै २०५४ मा पार्टीको छैटौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए ।

वि.सं. २०६० सालमा उनी एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

वि.सं. २०६१ देखि २०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुख, ०६५ मा केन्द्रीय सदस्य, २०६५ मै पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका गुरुङ २०६९ देखि ०७१ सम्म केन्द्रीय कार्यालयको सचिव भएर काम गरे ।

वि.सं. २०७१ सालको नवौं महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित उनी हाल एमालेको केन्द्रीय संगठन विभाग प्रमुखकोरुपमा कार्यरत् छन् ।

अघिल्ला संसदीय निर्वाचनमा दुईपटक पराजित भएका गुरुङ २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट विजयी भएका थिए ।

२०६२/०६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री भएका थिए ।

गुरुङ २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्