
काठमाडौं, मंसिर, १८ । एमफिलको प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डिल्लीराज शर्माको दबाबमा परी उत्तिर्ण गराएको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियनले बल्खुस्थित जनप्रशासन केन्द्रीय विभाग र व्यवस्थापन संकाय डिनको कार्यालयमा तालाबन्दी गरेको छ ।
राजनीतिक दबाबमा परी लिखित परीक्षामा पास भएका विद्यार्थीको नाम हटाई फेल भएका विद्यार्थीलाई उत्तिर्ण गराएपछि तालाबन्दी गर्न बाध्य भएको जनप्रशासन क्याम्पस स्ववियू सभापति पंकज सुवेदीले जानकारी दिए ।
त्रिवि जनप्रशासन केन्द्रीय विभागले यही मंसिर ११ गते निकालेको प्रवेश परीक्षाफलमा रोल नम्बर ५५ का उमेशभक्त जोशीको नाम समावेश थिएन ।
तर, राजनीतिक दबाबपछि डिनको संलग्नतामा लिखितमा फेल भएका जोशीलाई पास भएका परीक्षार्थीको नाम हटाई समावेश गरेको पाइएको सुवेदीले बताए ।
लिखितमा अनुत्तिर्ण विद्यार्थीको नाम नहटाएसम्म तालाबन्दी जारी रहने उनले बताए ।
‘एमफिलजस्तो उच्च तहको अध्ययनमा मेरिटका आधारमा विद्यार्थीले पढ्न पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । यसको छिनोफानो नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्