प्रदेश–५ को उपसभामुखमा थारुको उम्मेदवारी दर्ता • Image Khabar Image Khabar


प्रदेश–५ को उपसभामुखमा थारुको उम्मेदवारी दर्ता


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार १५:५१

प्रदेश–५ को उपसभामुखमा थारुको उम्मेदवारी दर्ता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारकारुपमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । थारु एमालेबाट प्रदेशसभा सदस्य छिन् ।

उनको प्रस्तावकमा नेकपा एमालेका प्रदेशप्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेशप्रमुख सचेतक दधिराम न्यौपाने छन् ।

आइतबार हुने उपसभामुख निर्वाचनका लागि प्रदेशसभा सचिवालयले शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको थियो ।

प्रदेशसभाको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको छ ।

संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ ।

कमैया तथा कम्लहरी महिलाको मुक्ति एवं अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दिया, राजापुर नगरपालिकाकी कृष्णी थारुले बाल्यकालदेखि नै जमिन्दारको घरमा कम्लहरीकोरुपमा काम गरेकी थिइन् ।

उनले विवाहपछि पनि जमिन्दारको घरमा परिवारसहित कमैयाकोरुपमा काम गरेकी थिइन् ।

वि.सं. २०५७ साउन २ गते सरकारले कमैया–कम्लहरीमुक्त भएको घोषणा गरेसँगै उनको परिवार पनि मुक्त भएको हो ।

सरकारले कमैयामुक्त गर्दा मुक्तकमैयालाई पहिचान नदिएको भन्दै उनले विभेदविरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षालगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी थिइन् ।

उम्मेदवारी दर्तापछि नेत्री थारुले आफूले उपसभामुख पदको मर्यादित ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रदेश नम्बर–५ को समृद्धिका लागि सम्पूर्ण दलसँग सहकार्य र समन्वय गरेर अगाडि बढने बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्