२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


साताको पुँजीबजार सुधारियो


0
Shares

बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ४० अंकले सुधारिएर अन्तिम दिन १४ सय २४ विन्दुमा पुग्यो ।

यो साता कारोबार भएका सबै समूह बढेसँगै साताको नेप्से दोहोरो अंकले बढेको हो । बिमा समूह सबैभन्दा उच्च २६२ अंकले उकालो लाग्यो । लघुवित्त समूह ७६ अंकले, जलविद्युत् समूह ६५ अंकले, विकास बैंक समूह ६४ अंकले, वाणिज्य बैंक समूह ३३ अंकले, उत्पादनमूलक समूह ३० अंकले बढ्यो भने होटल, वित्त, व्यापार र अन्य समूह सामान्य अंकले सकारात्मक रहे ।

यो साता १७९ कम्पनीका ३७ लाख ९२ हजार कित्ता सेयर १ अर्ब ५४ करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

गत साता १७६ कम्पनीका ४१ लाख ९६ हजार कित्ता सेयर १ अर्ब ५५ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको थियो । कारोबार रकम भने गत साताकोभन्दा करिब एक प्रतिशतले कम हो ।

यो साता कारोबार रकम र सेयर संख्याको आधारमा प्रभु बैंक एवं कारोबार संख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।