
नेपाल राष्ट्रिय व्यवसायी महासंघको शनिबार राजधानरीमा भएको प्रथम महाधिवेशनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकावासी भूकम्पपीडितलाई २ प्रतिशत ब्याजदरमा २५ लाख ऋण दिन पहल गरिने बताएका हुन् ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपीडितलाई आवास निर्माणका लागि सरकारले २ प्रतिशत ब्याजदरमा ऋण सहुलियत दिने घोषणा गरेको थियो ।
सरकारको घोषित २५ लाख ऋण २ प्रतिशत ब्याजदरमा तत्काल प्रदान गर्न पहल गरिने मेयर शाक्यले बताए ।
कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीमगरले लगानीमैत्री वातावरणका लागि अप्ठ्यारा केही कानुन हटाउन एवं संशोधन गर्नुपर्ने बताइन् ।
यस्तै, आर्थिक समृद्धिका लागि निजी, सहकारी र सार्वजनिक क्षेत्र एकजुट भएर अघि बढ्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । समृद्धिका लागि राज्यको स्रोत विस्तार आवश्यक रहेकोे उनको भनाइ थियो ।
हालै गठन भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १८ संघ–संस्थाहरु आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्