नेपालमै यस्तो दर्दनाक अवस्था: राउटेहरुको रहस्यमय वास्तविकता (फोटोफिचर) • Image Khabar Image Khabar


नेपालमै यस्तो दर्दनाक अवस्था: राउटेहरुको रहस्यमय वास्तविकता (फोटोफिचर)


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार ०८:५३

नेपालमै यस्तो दर्दनाक अवस्था: राउटेहरुको रहस्यमय वास्तविकता (फोटोफिचर)

-शब्द-तस्विरः स्वामी शिवानन्द/शंकर अशान्त

दैलेख । फिरन्ते जातिको रुपमा परिचति राउटे समुदाय नेपालका केही पहाडी भू-भागमा बसोबास गर्छन् । राउटेहरुको जिन्दगी नियाल्न, जानकारी लिन र आफुहरुले सकेको सहयोेग गर्ने उदेश्यले शिव आनन्द कल्याणकारी ट्रष्टमार्फत हाम्रो टोली भैरवी गाउँपालिका डोक्रा दैलेखमा हामी पुग्यौं । जहाँ उनीहरुमध्ये केहीको जमात त्यहाँ बसोबास गर्छन् । जाडोमा जाडोेकै कारण र गर्मीमा गर्मीकै कारण जोखिमपूर्ण जीवनशैली बाँचिरहेका छन् राउटेहरु ।

पाल उनीहरुको घर हो भनौं या ओत लाग्ने साधन हो । जहाँ तीनदेखि सात जनासम्म एउटै परिवारमा मिलेर बसेका हुन्छन । किलामा पाल अड्याएर घर बनाउँछन् । फिरन्ते जातिको रुपमा परिचित नेपालको केही पहाडी भू-भागमा बस्ने राउटेहरुको एउटा टोली दैलेखको कुसापानीमा केही महिनादेखि बसिरहेका छन् । आफ्नै समुदायको कट्टर मान्यतामा बस्न रुचाउने राउटे समुदाय खिईंदै खिईंदै डेढसयको हाराहारीमा मात्रै सीमित छन् ।

rautefinal4

राउटेहरु कति समय एक ठाउँमा बस्छन् होला भन्ने जिज्ञासा आम रुपमा पाईन्छ । साधन स्रोत हुँदासम्म उनीहरु आफू बसेको ठाउँ छोड्दैनन् । वनले अनुमति दिएका काठ ढालेर भाँडाकुँडा बनाउनु र यसलाई बेचेर अन्न किन्ने गर्दछन् । समुदायमा कसैको मृत्यु भयो भने अशुद्ध भएको भन्दै बस्ती सार्छन् । मान्छे मर्दा नुन होईन तेल छोड्ने संस्कृतिमा बाँचेको राउटे समुदायका मुखिया धनबहादुर शाहीले भने, ‘नुन त हाम्रो प्राण हो हामी छोड्न सक्दैनौं । मर्ने बित्तिकै जुठो मान्दैनन् । सदगदपछि मात्रै जुठो सुरु हुने प्रचलन छ । भोलि नै कुनै चाडपर्व छ र आज कसैको मृत्यु भयो भने सदगदमा ढिलाई गरेर भएपनि चाडपर्व मनाउने गर्दछौं । ’खानाको लागि गुना बाँदर मार्नु र खोलामा बाँध बाँधेर माछा मार्नु उनीहरुको दिनचर्या नै हुन्छ ।

बिडम्बनाको कुरा आजकल अम्मलमा चुर्लुुम्मै डुबेका छन् राउटेहरु । कुसापानीमा शान्ति होटेल चलाइरहेकी शान्ति जैसी भन्छिन, ‘बडो मिहिनेतले बनाएका बाकस, आरी, पिर्का जस्ता काठका सामाग्रीलाई उनीहरु रक्सीपानी मै सिध्याउँछन् । जाँडरक्सीका अलावा गुट्का सुर्ती र चुरोटको अम्मलमा यसरी डुबेका छन् । कि अधिकांश वयस्क यसको असर लिएर बाँचिरहेका छन् । आफैलाई सिध्याउन लागिपरेका छन् राउटेहरु ।’

rautefinal1

उनीहरुको बसेको ठाउँ वरिवरी देखिने रक्सीका खाली सिसी र सुर्तीजन्य पदार्थका पाकेटहरुले पनि यो कुराको पुष्टि गरेको छ । उनीहरुलाई देख्नासाथ जो कोहीले अनुरोध गर्छन् समाजको मूल प्रवाहमा आउनुस् । बच्चालाई स्कुल पठाउनुस् । सरकारले उपलब्ध गराउने घरमा स्थायी बसोवास गर्नुस् । मोबाईल बोक्नुस् । बिरामी हुँदा अस्पतालको उपचार गर्नुस् । तर उनीहरु यी कुरालाई त्यति वास्ता गर्दैनन् । आफ्नो जीवनशैली र नीति नियमलाई परम्परा र आफ्नै निजी प्रचलनको माध्यमबाट चलाउँछन् रुचाउँछन् । डाक्टरले भनेको बिमारमा होईन धामीले भनेको मसानमा बिश्वास गर्छन् । बृद्धबृद्धा र बच्चाहरु निमोनिया कै कारण मरिरहेका हुन्छन् ।

आफ्नै समुदायबाट चुनिएका महामुखिया र मुखियाको कमाण्डमा राउटेहरु चल्छन् । मुखियाको तल ठालु भन्ने पद पनि छ । मुखिया र ठालुका घरका परिवार वा इष्टमित्रहरु आफूलाई फलानोको आफन्त भनेर गर्व गर्छन् । उनीहरु परिवर्तन भन्दा आफ्नै पुरातन मान्यतालाई जोगाउन उद्यत हुन्छन् । यसरी सम्झाउँदै गर्दा राउटे मुखिया सूर्यनारायण शाही भन्छन्, ‘हजुरहरुले भनेका कुरापनि बिस्तारै हुँदै जाला अहिल्यै यस्तो गर्न नभन्नुस ।’

अशिक्षा राउटे बस्तीको पहिलो समस्या हो । स्वास्थ्य, खानपिन, सरसफाई, राम्रा लाउने र ओढ्ने ओच्छयाउने कुराको समस्या बस्तीमा देखिन्छ । बालबिवाह पनि राउटे बस्तीको डरलाग्दो समस्या हो । नातिनी सरहकालाई समेत राउटेले बिवाह गरेको पाइन्छ ।

rautefinal3

जंगली जीवनशैली र फिरन्ते भएता पनि उनीहरु बिवाहजस्तो कुरामा सगोत्रीलाई स्वीकार गर्दैनन् । मूलतः शाही थरका राउटेहरु ‘कल्याल’ र ‘रास्कोटी’गरी दुई गोत्रका हुन्छन् । सोवंशी र हमालहरु पनि केही मात्रामा छन् । यही भिन्न गोत्रमा बिहेवारी चल्छ । उनीहरुको बिवाहमा बाख्रा, गुना, माछा आदीको परिकार पकाइन्छ । तेलमा तारेर पकाईएका परिकारहरुको ठूलै महत्व रहेको हुन्छ । माघी र तिहार यिनीहरुले पनि मनाउँछन् । मंसिरमा पाँचदिनसम्म देवताको पूजा गर्छन् । यसका बारेमा स्थानीय शिक्षक धनबहादुर राना भन्छन्, ‘यो मंसिरमा ४६ वटा वाख्रा काटेर देवताको पूजा गरेको हामीले नै देखेका हौँ ।’

कुनै समय ‘राउटे आउँछ सुतेका बच्चालाई उठाएर लैजान्छ, आफ्नै बच्चालाई मारेर खान्छ’ भन्ने पुराना मान्यता थियो । यस्ता अनेकन जिज्ञासाका बारेमा राउटेहरु भन्छन, ‘सरकारले तोकेको भन्दा अर्को काठ समेत काट्दैनौं, किन बच्चा मार्नु ? हामीलाई पुलिसले समाइहाल्छ नी । कुनै नयाँ पाहुना बस्ती वरपर आउँदा उनीहरु नगद रुपैयाँ पैसाको तुरुन्तै आश गर्छन् । बुढी मरेको या बच्चा बिरामी भएको या सुर्ती खान मन लागेको भन्दै सय दुईसय रुपयाँ तोकेरै माग्छन् राउटेहरु । बिधवा महिला देखाएर ‘यो राँडीको कोही छैन् पैसा दिनुस’ भनेर फकाउँछन् ।

rautefinal10

हुन पनि हो विगत र भविष्य केवल काल्पनिक कुराहरु हनु । यहि कुरा राउटेहरुमा लागु हुन्छ । उनीहरु भोलि के होला ? या के चाँहिएला भन्ने कुरामा उनीहरुलाई चासो हुन्न । आज र अहिले कसरी खानेकुरा जुट्छ भन्ने कुराहरुको लागि उनीहरु मरिमेट्छन् । राउटेका दुःख सुखलाई नजिकबाट बुझ्न शिवानन्द कल्याणकारी ट्रष्ट काठमाडौँ अनामनगरबाट दलबल सहित दैलेख पुगेका हामी केही खुशी र केही तीता अनुभव सँगालेर फर्कियौं । हामीले केही थान कम्बल, चामल, नुन, तेल र चाउचाउ जस्ता सामाग्री बितरण पनि गर्‍यौं । र छिट्टै हामी उनीहरुको जीवनशैलीको बृत्तचित्र निर्माण गरि सार्वजनिक पनि गर्दैछौं ।

जे होस् त्यहा पुगेर उनीहरुको अवस्था बुझ्न पाइयो । केही जानकारी पाइयो तर सम्पर्कमै रहलान् र दुःख-बिमार पर्दा समुदायकै लागि सूचनाको साधन बनोस् भनेर एकहप्ता चल्ने मोबाईल सेट दिएका थियौं । ’ भैरवी गाउँपालिका वडा नम्बर पाँचका वडाअध्यक्ष हेमलाल जैसी भन्छन्, ‘बिभिन्न संघसंस्थाहरुले राउटेहरुलाई धेरै राहत सामाग्री दिएर जान्छन् । तर यिनीहरुमा परिवर्तन पाईंदैन । फलस्वरुप राउटेहरु यसपाली पनि कठ्याँग्रिएर हिउँद काटिरहेका छन् ।

rautefinal8

सरकारी स्तरबाटै यिनीहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याएर उनीहरुको जीवन शैलीलाई परिवर्तन गर्न सम्भव छ । उचित शिक्षा, दिक्षाको अभावमा राउटेहरु अस्तव्यस्तको कहालीलाग्दो जिवनयापन गरिरहेका छन् । यदि उनिहरुको जिवनस्तर उकास्न समय मै पहल गरिएन भने राउटेहरु सदाको लागि लोप भएर जाने निश्चित प्रायःछ । गाउँपालीकामा धेरै संघसंस्थाले राहत सामग्री दिएर जाने गरे पनि उनिहरुसम्म त्यो राहात सामग्री नपुग्ने गरेको राउटेहरुले हामीलाई गुनासो पनि सुनाए । भैरवी गाउँपालिकाको डोक्रा जंगलमा बस्दै आएका राउटेहरु यो भन्दा अघि दैलेखको लयाँटी बिन्द्रासैनीको खोला नजिक बसोबास गरिरहेका थिए ।

rautefinal6

rautefinal9

rautefina5

 

प्रतिक्रिया दिनुहोस्