तामाका भाँडा बनाउने पेशा लोप हुँदै • Image Khabar Image Khabar


तामाका भाँडा बनाउने पेशा लोप हुँदै


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १५:०१

तामाका भाँडा बनाउने पेशा लोप हुँदै

मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले तामाका भाँडा बनाउने गरे पनि अहिले तामाका भाँडा बनाउने मानिस नै भेटाउन मुस्किल छ । तामा महँगो हुनु, कच्चापदार्थ, कोइला लगायतका सामान र कामदारको अभावका कारण पछिल्ला वर्षमा परम्परागतरूपले तामाका भाँडा बनाउन कठिन हुँदै आएको छ ।

पाल्पाको बगनासमा ५० घरपरिवारको मुख्य पेशाका रुपमा रहेको तामाका भाँडा बनाउने आरन अहिले देख्नै मुस्किल भएपनि स्थानीय बासिन्दा प्रेमसिंहले मात्र अहिले एक्लै पेशा धान्दै आएका छन् ।

पछिल्ला वर्ष सबैले यो पेशा छोडको स्थानीय बासिन्दा मनरुपा विश्वकर्माको भनाइ छ । पाल्पा जिल्लाको खालीवन, गल्धा, हुुमिन, देवीनगर, झडेवा, रुप्से, कसेनी, यम्घा, चापपानी बगनास, खस्यौली, छहरा लगायतका स्थानमा तामाका भाँडा बनाउने गरे पनि पछिल्ला दश वर्षमा यस्ता भाँडा बनाउने आरनसमेत लोप हुँदै गएको दलित अधिकारका लागि साझा अभियानका जिल्ला अध्यक्ष विष्णु नेपाली बताउँछन् ।

सरकारले दलित समुुदायका पुख्र्यौली सीपलाई आधुनिकीकरण गर्न बेवास्ता गर्दा दलित समुुदाय यो पेशाबाट विस्थापित हुन बाध्य भए । तामाका भाँडामा पानी राखेर पिउँदा स्वास्थ्यलाई लाभ हुने भएकाले कतिपयले अझैपनि तामाको भाँडा प्रयोग गर्दै आए पनि पछिल्ला वर्ष सस्तो र हलुङ्गो हुने प्लाष्टिक लगायतका अन्य भाँडाका कारण यसको प्रयोग घटदै आएको हो ।

तामा भाडा बनाउन श्रमको बढी प्रयोग हुने भएकाले नयाँ पुस्ता पलायन हुँदै मजदुुरीका लागि शहर तथा छिमेकी मुुलुुक भारतमा जानसमेत बाध्य भएका अधिकारकर्मी नेपाली उल्लेख गर्छन् ।

विश्वकर्मा समुदायको प्रमुख पेशाका रुपमा रहेको यो पेशाबाट अहिले सिङ्गो समुदाय नै विस्थापित हुन बाध्य छ तर स्थानीय सरकारले दलित समुदायका परम्परात पेशालाई संरक्षण गर्नका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक भएको अर्का दलित अधिकारकर्मी खुमबहादुर विश्वकर्माको भनाइ छ । उनका अनुसार तामा, पित्तल, गिल्टी लगायतका भाँडा बनाउने आरनलाई व्यावसायिक बनाउन स्थानीय तहबाट पहल भए यस पेशाबाट सयौँ युवालाई रोजगार दिन सकिने सम्भावना छ तर सरकारको बेवास्ताका कारण दलित समुुदायको यो पेशा लोप हुन लागेको हो ।

विवाहमा गाग्री ताउला दाइजो दिने परम्परा हटदै आएको र घरमा पानीका धारा जडान गरेपछि तामाका गाग्रीको उपयोग घटेको छ भने बिजुलीको तारका लागि तामा प्रयोग हुने भएकाले महँगो मूल्यमा कच्चा पदार्थ खरिद गर्नुपर्छ भने विक्री भने घट्दै आएको स्थानीय प्रेमसिंह विश्वकर्माको भनाइ छ ।

सरकारले दलित समुुदायको सशक्तीकरणका लागि स्थानीय निकायबाट बजेटको व्यवस्था गरेपनी यस्ता पुर्ख्यौली पेशा संरक्षणमा ध्यान नदिएको यहाँका बुढापाकाको गुनासो छ । (रासस)

प्रतिक्रिया दिनुहोस्