
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो कर्म क्षेत्रबाट उठेर मुुलुकको विकास, प्रगति र समृद्धिका लागि लाग्न अपील गरेका छन् ।
६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुडिखेलमा आयोजित विशेष समारोहमा उहाँले न्यायमूलक सामाजिक व्यवस्था कायम गर्न र आर्थिक विकासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न ऐतिहासिक अवसर आएको बताए ।
तीनवटै तहको निर्वाचन सम्पन्न भई सरकार गठनको चरणमा मुलुक प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले तीन वटै तहका सरकारले आ–आफ्नै सिमामा रही समन्वयात्मक पद्धतीबाट शासन सञ्चालन गर्न नयाँ अध्यायको सुरुवात भएको बताए ।
उनले सबै राजनीतिक दल र नेपाली जनतालाई साझा संकल्प गर्दै मुलुकको आर्थिक परिर्वतन, सुदृढीकरण, सुशासन र सामाजिक न्यायको युगको यात्रामा हातेमालो गर्न पनि आह्वान गरे ।
प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता र हितको सम्मान, कानुनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्ध नेपाल अबको सरकारको कार्यदिशा हुने बताए ।
उनले जनताले अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युग भएको पनि स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु, कर्मचारी, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो ।
कार्यक्रममा प्रजातन्त्र दिवस अंकित नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने राष्ट्रिय खेलकुद परिषद्बाट बिभिन्न खेल प्रदर्शन गरिएको थियो ।
त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट मार्चपास गरिएको थियो भने प्रजातन्त्र दिवसको अवसरमा शान्तिका प्रतीक परेवा उडाएर मुलुकमा शान्तिको कामना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्