चितवन पुगेर दाहालले भने– आजैदेखि म अध्यक्ष, ओली पाँच वर्षसम्म प्रधानमन्त्री • Image Khabar Image Khabar


चितवन पुगेर दाहालले भने– आजैदेखि म अध्यक्ष, ओली पाँच वर्षसम्म प्रधानमन्त्री


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १२:४५

चितवन पुगेर दाहालले भने– आजैदेखि म अध्यक्ष, ओली पाँच वर्षसम्म प्रधानमन्त्री

उनले मंगलबार चितवन पुगेर आफू पार्टी अध्यक्ष भएको र आगामी पाँच वर्ष केपी ओली प्रधानमन्त्री रहने बताए । एकता महाधिवेशनसम्म पार्टीलाई दुवैजनाले नेतृत्व गर्नेगरी ‘को–चियर’ पद्धति लागू गरिएको उनको भनाइ थियो ।

मंगलबार भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा आजैबाट दुवै पार्टी एक भएको र पार्टीको अध्यक्ष दुवै नेता रहने बताए । उनले बैठकको अध्यक्षतामा पनि पालैपालो गर्ने सहमति भएको बताए ।

वैधानिक रुपमा पार्टी दर्ता नभए पनि हिजो रातिबाट नै पार्टी एकीकरण भईसकेको उनको भनाइ थियो । उनले अबको पाँच वर्षसम्म पार्टीको तर्फबाट केपी शर्मा ओली नै प्रधानमन्त्री रहने स्पष्ट पारे ।

अध्यक्ष दाहालले दुई कम्युनिष्ट पार्टीको एकताले सबैमा उत्साह छाएको र देश विदेशको ध्यान समेत तानेको बताए । उनले भने, ‘पार्टी एकीकरण जनताको निम्ति, नेपालको निम्ति, दक्षिण एशियामा असर पर्ने तरिकाले भएको छ, यो सामान्य एकीकरण होइन ।’

उनले आगामी दिनमा नेपाल समृद्धिको यात्रामा सफल हुने विश्वास व्यक्त गर्दैमा सबै तहका नेता, कार्यकर्ता तथा जनतालाई बधाईसमेत दिए ।

एकीकरण हुँदा केही नेताहरुमा असन्तुष्टि छ नि ? भन्ने पत्रकारहरुको जिज्ञाशामा उनले भने, ‘पार्टी एकीकरण हुँदा कहीँ कतै असन्तुष्टि छैन, बरु खुशीयाली मनाईरहनु भएको छ ।’ उनले एक–डेढ वर्षभित्रै पार्टीको एकता महाधिवेशन गर्ने जानकारी दिए ।

सोमबार राति सहमति हुँदा बनेको दुईवटा कार्यदलले केही साताभित्रै प्रतिवेदन तयार पार्ने र त्यसकै आधारमा पार्टी एकीकरणको औपचारिक घोषणा र पूर्ण खाका तय हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्