
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा पश्चिमाञ्चललाई ५ विकेटले पराजित गरी घरेलु टोलीले सुखद् सुरुआत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलको प्रदर्शन राम्रो रहन सकेन । पश्चिमाञ्चलले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमात्रै बनाउन सक्यो ।
पश्चिमाञ्चलको इनिङ्समा वर्षा रानाले १४ र सरस्वती पुनले १० रनको योगदान गरे । सातजना ब्याट्सउमनले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउदले ३ विकेट लिइन् । उनी ‘वुमन अफ दी म्याच’ घोषित भइन् । यस्तै, कविता जोशीले २, कविता कुँवर, डली भट्ट र सम्झना खड्काले समान १/१ विकेट लिए ।
जवाफमा ७४ रनको विजयी लक्ष्य सुदूरपश्चिमाञ्चलले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
घरेलु टोलीको जितमा बिमला भट्टले सर्वाधिक १८, मन्जु रावलले १२ र रुबी पोद्दारले ८ रनको योगदान दिए ।
पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिइन् ।
सशस्त्रको शानदार जित
प्रतियोगिताअन्तर्गत् बुधबारै भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मध्यपश्चिमाञ्चललाई १० विकेटले हरायो ।
सशस्त्रले मध्यपश्चिमाञ्चलले दिएको ३७ रनको चुनौती बिनाकुनै क्षतिमा ४.५५ ओभरमै पूरा गर्यो ।
सशस्त्रको जितमा ओपनरद्वय ज्योती पाण्डेय र सीता रानामगरले महत्वपूर्ण साझेदारी गरे । ज्योतीले व्यक्तिगत २५ र सीताले ११ रनको योगदान दिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३६ रनमात्रै बनाएको थियो ।
मध्यपश्चिमाञ्चलका गीता गोसाइँले १५ रन बनाइन् । अरु खेलाडीहरु क्रिजमा जम्न सकेनन् । ६ जना खेलाडी खाता नखोली पवेलियन फर्किए ।
मध्यपश्चिमाञ्चललाई झिनो स्कोरमा समेट्नेक्रममा सशस्त्रकी ऋतु कनौजियाले सर्वाधिक ४ विकेट लिँदै ‘वुमन अफ दी म्याच’ घोषित भइन् । सोनु खड्का, रेखा रावल, गीता राना र अञ्जली चन्दले समान १/१ विकेट लिए ।
कैलाली जिल्ला खेलकुद प्रतियोगिताको सहकार्य र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा बुधबारैदेखि सुरु भएको प्रतियोगिता फागुन १३ गतेसम्म चल्नेछ ।
पाँच विकास क्षेत्र र विभागीय टोली सशस्त्र गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्